काठमाडौं। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक सम्पन्न भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसहरुमा छलफल गरेको छ। उक्त बैठकमा नेपाल-भारत बीचको मौजुदा विद्युत प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत आयात- निर्यात लगायतका विषयहरुमा छलफल भएको हो।
छलफलबाट विद्युतिय पुर्वाधार तीब्र गतिमा अघि बढाउने विषयमा विभिन्न सम्झौता भएको छ। ढल्केवर सवस्टेशनबाट हाल आयात-निर्यातको परिमाण ८०० मेगावाटबाट १००० मेगावाट पुऱ्याउने सम्बन्धमा अध्ययन गराउने सहमति भएको छ।
यस्तै ढल्केबर–मुजफ्फरपुर र एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको ढल्केवर-सीतामढी ४०० किलोभोल्ट प्रसारण लाइनबाट आदान-प्रदान गर्न सकिने विद्युतको क्षमता निर्धारण सम्बन्धमा पनि अध्ययन गराउने सहमति भएको छ।
टनकपुर-महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भाव्य विकल्पहरुबारे अध्ययन गराउने सहमति भएको छ।
यस्ता छन् अन्य सहमति
-१३२ किलोभोल्ट तथा सो भन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको छिमेकी राज्यहरुको प्रसारण प्रणाली उपयोग गरी दुई देशबीच विद्युत आयात-निर्यात गर्ने सम्बन्धमा भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरण र भारतका अन्य निकायहरुको समन्वयमा तयार गरेको विद्युत आयात-निर्यात गर्ने सम्बन्धी विधि प्रक्रिया ( Modalities) स्वीकृत गर्ने ।
- नेपाल-भारत बीच इनरवा पुर्निया र न्यू लुम्की ( दोदोधरा ) - बरेली ४०० किलोभोल्ट क्षमताका थप दुई वटा अन्तरदेशीय प्रसारण लाइनहरुको निर्माण कार्य क्रमशः सन् २०२७ / २८ र २०२८ / २९ सम्ममा सम्पन्न गर्न लगानीको मोडालिटी टुङ्ग्याउन JWG लाई निर्देशन दिने ।
-भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न भारतको विद्युत आयात-निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिटै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षहरुमा छलफल ।
-नेपाल र भारतबीच विद्युत आयात-निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनहरुको अध्ययन गर्न JTT लाई निर्देशन दिने ।
-नेपालबाट भारतको Day Ahead Market मा विद्युत निर्यात भइरहेकोमा आगामी दिनमा Term Ahead Market तथा Green Day Ahead Market मा विद्युत निर्यात गर्न क्रमशः स्वीकृति दिइने ।