काठमाडौं । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्नपर्ने विश्वका ५२ वटा गन्तव्यहरुको सूचीमा नेपालको मुस्ताङलाई पनि राखेको छ ।
त्यस्तै, विश्व प्रसिद्ध ट्राभल वेभसाइट ‘ट्रिप एडभाइजर’ले नेपालको राजधानी काठमाडौंलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन)का रुपमा घोषणा गरेको छ ।
‘ट्रिप एडभाइजर’ले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस–२०२४’ घोषणा गर्दै काठमाडौंलाई पहिलो सूचीमा राखेको हो । यसरी विश्वमा नेपालको प्रचारप्रसार भइरहँदा सरकारले के कसरी नेपालको पर्यटनलाई प्रवर्द्धन र व्यवस्थित गर्ने बारे नेपालका विभिन्न पर्यटन संघ, संस्थासँग गरेको कुराकानीः
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाका अनुसार नेपालमा पर्यटक आउन अथवा ल्याउन सबैभन्दा महत्वपूर्ण ‘गेट–वे’ भनेको ‘एयर कनेक्टिभिटि’ हो । यसलाई सकेसम्म बढाउनुपर्ने उनको सुझाव छ ।
थापाले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउनुपर्ने बताउँदै भने, ‘कसरी हुन्छ ? के सुविधा दिएर हुन्छ ? नेपालका यी दुई विमानस्थलहरु चलायमान बनाउनुपर्यो । त्यहाँबाट कस्ता यात्रुहरुलाई नजिक पर्नसक्छ ? उडान गर्नको लागि त्यहाँ नजिकको गन्तव्यमा ल्याण्ड कनेक्टिभिटि कसरी गरिदिने ? एयर कनेक्टिभिटिको सहुलियत उनीहरुलाई कसरी दिलाउने ? त्यो कुरामा सरकारले ध्यान दिनुपर्ने हो । तर ध्यान गएको छैन् ।’
भैरहवाबाट पर्यटकहरु पोखरा जाँदा वा भैरहवा र पोखराबाट काठमाडौं आउने पर्यटकहरुको लागि सस्तो हवाई टिकटको व्यवस्थापन गरेर भए पनि सरकारले यी दुई विमानस्थललाई विजनेश दिनुपर्ने उनले बताए । थापाले पोखरा र चितवन जाने सडकमार्ग सकेसम्म छिटो सम्पन्न गर्नुपर्ने जरुरी रहेको पनि बताए ।
‘ल्याण्ड कनेक्टिभिटि’ बढ्ने वित्तिकै पर्यटकहरुलाई पनि सहज हुने थापाले बताए । उनले भने, ‘सरकारले पर्यटन व्यावसायलाई सहज हुनेगरी व्यावसायमैत्री नीति नियम बनाइदिनुपर्यो । भिसा प्रक्रिया, विदेशी मुद्रा सटही, अध्यागमनका कुराहरुमा सहजीकरण गरिदिनुपर्यो । । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धन गरी रहँदा विभिन्न देशमा रहेका दूतावासहरुसँग समन्वय गरेर त्यहाँका व्यावसायीसँग भेटघाट गरी पर्यटक भित्राउन भूमिका खेल्नुपर्यो । कुन देशका पर्यटक कस्ता छन् ? उनीहरु के चाहान्छन् ? त्यो कुरा बुझेर प्रवर्द्धनका गतिविधि गर्नुपर्यो ।’
पर्यटन बोर्डले विभिन्न देशका पर्यटकहरुको बारेमा अध्ययन विश्लेषण गरी निजी क्षेत्रसँग समन्वय गरेर परराष्ट्र मन्त्रालयलगायतका निकायसँग समन्वय गरी काम गरेमा नेपालमा पर्यटक बढाउन समस्या नरहेको बताउँदै थापाले योजनावद्ध ढंगले प्रचारप्रसार, पूर्वाधार निर्माण, सेवा सुविधा दिने कुरा गरेमा एक पटक आएका पर्यटक पनि दोहोर्याएर आउने बताए ।
उनले भने, ‘यो देशमा पर्यटकहरुलाई प्रकृति आफैले पनि बोलाइरहेको छ । उनीहरु नेपाललाई माया गरेर आइरहेका छन् । अब हामीले ‘लो बजेट’ (कम खर्च गर्ने) पर्यटक मात्रै नभएर ‘क्वालिटि बजेट’ (बढी खर्च गर्ने) पर्यटक भित्राउन पनि रणनीति बनाउनुपर्छ । एक पटक आएका पर्यटक पटक पटक आउने वातावरण बनाउन पनि निजी क्षेत्रको प्रयासले मात्रै पुग्दैन् । सरकार आफै पनि लाग्नुपर्ने हुन्छ ।’
सधैं १० लाख पर्यटक भित्रिए भनेर रमाएर मात्रै नहुने थापाको तर्क छ । उनले अरु देशले करोडौं पर्यटक भित्राउन रणनीति बनाएर सफल हुने गरेकोमा नेपाल भने १० लाखमा सीमित हुन नहुने भन्दै उनले अहिले नै ३०–३५ लाख पर्यटक राख्नसक्ने क्षमता आथित्यता क्षेत्र भइसकेको बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष प्रदीप पण्डितले प्रतिवन्धित माथिल्लो मुस्ताङ क्षेत्रमा पर्यटक जान दिनुपर्ने तर्क गरे । उनले त्यस क्षेत्रमा पर्यटक जान दिँदा पनि दुई जना नभई जान नदिने गरिएको भन्दै एक जना मात्रै भए पनि जान दिनुपर्ने बताए ।
पण्डितले भने, ‘अहिले त्यहाँ गाडीलगायतका सुविधाहरु पुगिसकेको हिसाबले एक जना मात्र पर्यटक जान मिल्ने बनाउनपर्यो भनेर हामीले पहिलादेखि नै भन्दै आएका छौं । नेपाल आएका पर्यटकहरु कोही एक्लै ट्राभल गर्न रुचाउँछन् । एक्लै जान दिन खोज्नेलाई दिँदा के फरक पर्छ ?’ माथिल्लो मुस्ताङमा युरेनियमलगायतका बहुमूल्य धातुहरु रहेकाले राजाको शासनकालदेखि नै सो क्षेत्रमा विदेशीहरुलाई जान कडाई गरिएको हो ।
पण्डितले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । उनले विमानस्थलको सेवा सुविधा कमजोर रहेको र पूर्वाधार पनि राम्रो नरहेको बताउँदै सडकहरुको मर्मत र स्तरोन्नतीमा पनि ध्यान दिनुपर्ने बताए । नेपाल आएका पर्यटकहरुले राजधानी काठमाडौंको भ्रमण नै बढी प्रभाव पर्ने भएकाले उनीहरुमा नेपालप्रति पहिले नै सकारात्मक दृष्टिकोण बनाउन पनि काठमाडौंका सडक सफा र सुन्दर बनाउनुपर्ने पण्डितको तर्क छ ।
पर्यटकीय सिजनमा लुक्ला जाने उडान धेरै प्रभावित हुने र रामेछापको मन्थली विमानस्थलबाट उडान गर्दा पर्यटकहरुले धेरै दुःख पाउने गरेको बताउँदै उनले पर्यटकहरुको विचल्ली हुने अवस्था अन्त्य गर्न रामेछापमा खाने बस्ने राम्रो व्यवस्था हुन नसकेको बताए । स्वदेशी वा विदेशी सबै पर्यटकले समस्या झेल्नुपर्ने अवस्था आउन नदिन सरकार नै सचेत हुनुपर्ने उनको भनाई छ ।
पण्डितले पनि पोखरा र भैरहवा विमानस्थलहरुलाई नियमित सञ्चालन गर्न सरकारले ध्यान नदिएकोमा असन्तुष्टि जनाए । नेपालका विश्व सम्पदा स्थलहरुको संरक्षण र पुनर्निर्माण हुन नसकेको भन्दै उनले भूकम्पमा क्षति भएका सम्पदाहरुको पुनर्निर्माण अझै हुन नसकेको उदाहरण दिए ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटकीय गन्तव्य र शहरहरु सुचीकृत हुँदा प्रचारप्रसार भई पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने बताए । तर अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार मात्रै हुने तर नेपालमा भने पर्यटन पूर्वाधारको विकास नै नहुने रोग रहेको बताए ।
शेर्पाले मुस्ताङ क्षेत्रमा पर्यटकहरुको लागि सेवा सुविधाहरु बढाउनुपर्ने खाँचो रहेको बताए । उनले भने, ‘त्यहाँका स्थानीय पर्यटन व्यावसायीहरुलाई पनि प्रोत्साहन गर्नुपर्ने जरुरी छ । किनभने त्यहाँ पूर्वाधार नभइकन प्रचार मात्र गर्दा नेपाल आएका पर्यटकहरुले दुःख पाउँछन् । त्यस्तो हुँदा उनीहरुमा नकारात्मक छाप पर्छ ।’ यो कुरालाई पनि मध्यनजर गर्दै सरकारले २०२४ मा विश्वबाट घुम्न निस्कने पर्यटकहरुको लागि गर्नुपर्ने कुराहरुमा लाग्नुपर्छ ।’
होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालको अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार भए पनि विदेशी पर्यटकहरु आउँदा हामीले गर्नुपर्ने व्यावहार, स्वागत सत्कार चाहिँ त्यो अनुरुप हुन नसकेको बताए ।
उनले भने, ‘सबैभन्दा मुख्य कुरा त हाम्रो एयर कनेक्टिभिटि हो । नेपाल आउँदा धेरैजसो विदेशी पर्यटक जहाजमार्फत नै आउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुधार हुन सकेको छैन् । लाइन लामो हुन्छ । अवतरण गर्दाखेरी नै जहाजहरु आकाशमा आधा घण्टा, ४५ मिनेट होल्ड भइरहेको हुन्छ । यसरी होल्ड हुनुभन्दा त पोखरा र भैरहवा विमानस्थलतर्फ पठाउँदा राम्रो हुन्थ्यो ।’
पर्यटकलाई नेपाल बसाइको अनुभव राम्रो गराउन निजी क्षेत्रसँगै सरकारले पनि भूमिका खेल्नुपर्ने शाहले बताए । उनले पर्यटक नेपालको बारेमा राम्रो सुनेर आउने तर ‘पहिलो गासमै ढुंगा’ भनेजस्तो नकारात्मक प्रभाव पर्यो भने पर्यटक फेरि फर्किएर आउँछन् त ? भन्दै विमानस्थलमा अवतरण गर्न कुर्नुपर्नेदेखि ब्यागेजको लागि लामो समय पर्खिनुपर्ने बाध्यतासम्मका कुराहरुबाट सुधारको सुरुवात गर्नुपर्ने बताए ।
होटल व्यावसायीहरु ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि सन् २०२३ मा १० लाख मात्रै पर्यटक भित्राउन सक्किएकोमा शाहले असन्तुष्टि जनाए । होटल र रिसोर्ट मात्रै बनेर पर्यटन क्षेत्रको विकास नहुने बताउँदै उनले ठूलो लगानी गरेर बनेका भैरहवा, पोखरा विमानस्थललाई कसरी नियमित सञ्चालन गर्ने ? सो कुरामा सरकार लाग्नुपर्ने बताए ।
शाहले थपे, ‘काठमाडौंको विमानस्थलमा १० लाख, भैरहवामा १० लाख र पोखरामा पाँच लाख पर्यटक आयो भने २५ लाख पर्यटक भित्रिने भयो । त्यसो गर्न गाह्रो छैन् । हामी भारत र चीनको बीचमा छौं । ती देशहरुबाट त्यतिकै पर्यटकहरु आइरहेका छन् । विश्व बजारमा जसरी हाम्रो देशको प्रवर्द्धन भइरहेको छ । त्यस कारण हाम्रो पूर्वाधार, हाम्रो कनेक्टिभिटि, हामीले पर्यटकलाई दिनुपर्ने सेवा सुविधा बढाउनुपर्यो । निजी क्षेत्रले त दिइरहेकै छ ।’
उनले भने, ‘हामी पर्यटकहरुलाई वरल्ड क्लास (विश्वस्तर)को सुविधा दिन सक्छौं । पर्यटकहरुले खोज्ने सेवा सुविधा सबै दिनसक्ने भइसकेका छौं । तर सरकारले पर्यटन पूर्वाधारः विमानस्थल, बाटो जस्ता कुराहरुमा ध्यान दिएन । हामीसँग क्षमता छ पर्यटकहरु राख्न । तर, नेपालमा ल्याउन सकेका छैनौं । त्यो कुरा सरकारले गर्नुपर्यो ।’
नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीले पनि पर्यटक बढाउने हो भने पूर्वाधार विकासमा नै सरकारले लगानी बढाउनुपर्ने बताए ।
उनले भने, ‘सरकारले पर्यटन पूर्वाधारमा ध्यान दिनुपर्छ । लगानी बढाउनुपर्छ । बनेका ऐन नियम रणनीतिहरुको कार्यान्वयन हुनुपर्छ । र्याफ्टिङ, ट्रेकिङ, पर्वतारोहण, जस्ता पर्यटन उत्पादनहरूको मानकीकरण गर्नुपर्छ । अनुसन्धान र नयाँ उत्पादन विकासमा ध्यान दिनुपर्छ । पर्यटन प्रवर्द्धन र बजारीकरणका लागि छुट्टै अन्तर्राष्ट्रिय अंग्रेजी टेलिभिजन च्यानल सञ्चालन गर्नुपर्छ ।’
अधिकारीले पर्यटन व्यावसायीहरुलाई प्रोत्साहित गरी पर्यटन क्षेत्रको विकासमा परिचालन गर्न सरकारले नसकेको बताउँदै स्रोत बजारमा प्रत्यक्ष हवाई सम्वन्ध स्थापना गर्ने, नेपाललाई सस्तो र सुरक्षित गन्तव्य बनाउने, थप जडाजको साथ राष्ट्रिय ध्वजावहाक वायुसेवालाई बढावा दिने, हवाई टिकटमा भ्याट लगायने, पर्यटन उत्पादन र सेवामा लग्जरी कर लगाउने बन्द गर्नुपर्ने जस्ता काम गर्नुपर्ने बताए ।
अधिकारीले थपे, ‘गुणस्तरीय उत्पादन र सेवाका साथ पर्यटन प्रवर्द्धन गर्ने, रिभर र्याफ्टिङ संरक्षण, साहसिक पर्यटन प्रवर्द्धन, दक्ष जनशक्तिको विकास गर्ने, तालिम दिने जस्ता धेरै कुराहरुमा सुधार जरुरी छ । यस्ता कुरा भनेको पर्यटन विकासको पूर्वशर्त हो । त्यता नै हाम्रो ध्यान जान सकेको छैन् कसरी पर्यटन विकास हुन्छ ?’