द क्लिफको सेटअपमा केरलामा बन्जी सञ्चालन, लागत ४० करोड भारू

Advertisement

काठमाडौं । बाग्लुङ–कुश्मालाई एड्भेन्चर हबका रुपमा स्थापित गरेको ‘द क्लिफ नेपाल’ को सेटअपमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । यो सँगै क्लिफ अन्तराष्ट्रियस्तरमा पहिलोपटक बन्जीको सेटअप तथा व्यवस्थापनमा सहभागी भएको छ ।

क्लिफका अध्यक्ष राजु कार्की, बन्जी क्रू प्रशिक्षक प्रकाश प्रधानसहितको प्राविधिक टोली सो परियोजनामा संलग्न रहेका छन् । प्रधान पहिलो नेपाली बन्जी मास्टरसमेत हुन् ।

Advertisement

केरालामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी तथा अन्य साहसिक गतिविधि स्कावाक, स्विङ (पिङ), सुपरम्यान स्विङको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफमा उपलब्ध गराउने कार्कीको भनाइ छ । बन्जी सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीहरूसमेत भएकाले क्लिफसँग सहकार्य भएको बताइएको छ ।

४० करोड भारुमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुने बताइएको छ । ८० मिटर उचाइँ रहेको यस बन्जीको नाम ‘क्रेन बन्जी’ राखिएको छ ।

पछि अर्को संरचना तयार गरी बन्जी सञ्चालनमा आउनेछ । दोस्रो चरणमा सञ्चालनमा आउने बन्जीको उचाइ १६० मिटरको हुनेछ। सो निर्माणधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउँछन् । यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।

मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए । आफ्नो क्षेत्रमा पनि बन्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो।

‘द क्लिफ’ लाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो ।’ 

Advertisement

Advertisement