काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा उनले विगत १५ वर्षको अभ्यासले संघीय गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको बताए ।
लिङदेनले देशलाई अब थप क्षति हुन नदिनका लागि पनि ठूला राजनीतिक दलहरु मुलुकमा राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने दोहोर्याए । उनले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरुलाई आग्रह गरे ।
अध्यक्ष लिङदेनले भने, ‘हाम्रो विगत १५ वर्षको अभ्यासले प्रमाणित ग¥यो–गणतन्त्र मात्रै होइन, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता हाम्रो देशको सन्दर्भमा अनुपयुक्त रहेछ भन्ने मात्रै होइन, असफल भएको छ । देशलाई थप क्षति हुन नदिनका लागि, बलियो राष्ट्रियताको लागि पहिलो कुरा त मेरो आग्रह छ– ठूलो राजनीतिक दल हौं भन्ने गणतन्त्रको संवाहक हुँ भन्नेहरुले कोर्स करेक्शन गर्न तयार हुनुपर्यो । नयाँ सम्झौताका लागि तयार हुनुपर्यो ।’
उनले थपे, ‘राप्रपाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भएन भनेको हामीले पछाडी फर्किउँ भनेको होइन । त्यो बुझनुभएन । हामीले पछाडि फर्कने कुरा गरेको होइन । तर यही बसिराख्न पनि सकिन्न । अब देशले यो धान्न सक्दैन । अब हिजोका पनि राम्रा, आजको पनि राम्रा कुराहरु समेटेर अब नयाँ सम्झौतामा जानुपर्यो । र हामीले नयाँ बाटो तयार पारेर अगाडि जानुपर्यो भनेर राप्रपाले भनेको हो । त्यसकारण हामीले पछाडि फर्कने कुरा गरेको छैनौं । र यही बस्न पनि हामी मञ्जुर छैनौं । अब देशलाई नयाँ बाटोमा लैजानुपर्छ । जहाँ अब माओवादीदेखि राजासम्मसँगै रहने व्यवस्था अब हामीले निर्माण गर्नुपर्छ ।’