काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीले उक्त सभाबाट साविकका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चात पहिलो साधारण सभा सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०७८।७९ को बार्षिक प्रतिवेदन साविकका प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफको तथा आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९।८० का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावालाई सभाले स्वीकार गरेको छ । त्यस्तै, सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता, कम्पनीबाट आर्थिक वर्ष २०७८।७९ मा भएको खर्च अनुमोदन गरेको छ ।
संचालक समितिका अध्यक्ष शुलभ अग्रवालले मर्जर पश्चात कम्पनी व्यवस्थित रुपमा अगाडि बढिरहेकोले आगामी दिनमा कम्पनीलाई अग्रणी संंस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ मनोजकुमार लाल कर्णले मर्जर पश्चात कम्पनी सवल र सक्षम भएको भन्दै आगामी दिनमा शेयरधनीहरुलाई उचित लाभ प्रदान गर्ने बताएका छन् ।
सभाबाट संस्थापक शेयरधनीतर्फ शुलभ अग्रवाल, विवेक दुगड, सौरभ दुगड र सर्वसाधारण शेयरधनीतर्फ राजीवप्रसाद प्याकुरेल, प्रमिला केसी र सचिन आचार्य सञ्चालक निर्वाचित भएका छन् ।