पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात हुँदा सबभन्दा बढी चिया

Advertisement

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा सबैभन्दा बढी रु एक अर्ब ६६ करोड आठ लाख रुपियाँको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

Advertisement

कार्यालयको तथ्याङ्कअनुसार रु ९८ करोड ९६ लाख मूल्यबराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची, रु ५३ करोड १२ लाख ६५ हजार मूल्यबराबरको १५ हजार एक सय ७९ मेट्रिक टन प्लाइउड, रु ३० करोड ४६ लाख ४० हजार मूल्यको दुई हजार तीन सय ८० मेट्रिक टन अदुवा र रु १३ करोड ८१ लाख २० हजार मूल्यबराबरको एक हजार एक सय ५१ मेट्रिक टन अम्लिसो भारततर्फ निर्यात भएको छ ।

तरकारी वस्तुमा बन्दाकोभी र मुला भारत निर्यात हुने गरेको छ भने मसुरो दालसमेत उल्लेख्य मात्रामा निर्यात भएको छ । उक्त तीन महिनाको अवधिमा रु एक करोड ७२ लाख ६२ हजार मूल्य बराबरको एक सय २६ मेट्रिक टन मसुरो दाल, रु २० लाख ४८ हजार मूल्य बराबरको एक सय २८ मेट्रिक टन बन्दाकोभी र रु २९ हजार मूल्य बराबरको करिब दुई मेट्रिक टन मूला भारत निर्यात भएको कार्यालयले जनाएको छ । 

निर्यात वस्तुमा जडीबुटीतर्फ चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल र चुत्रो रहेको छ । यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ । 

कार्यालयका अनुसार दोस्रो त्रैमासिक अवधिमा रु ९४ लाख मूल्य बराबरको ४७ मेट्रिक टन चिराइतो, रु एक लाख छ हजार मूल्यबराबरको एक मेट्रिक टन पीपला, रु दुई लाख ९५ हजार मूल्यबराबरको अढाई मेट्रिक टन अमला, रु दुई लाख ५० हजार मूल्यबराबरको दुई मेट्रिक टन मजिठो, रु एक लाख ९८ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुगन्ध कोकिल, रु तीन लाख ५० हजारको १० मेट्रिक टन धुपी, रु छ लाख ९० हजारको छ मेट्रिक टन पदमचाल र रु ३९ हजारको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

आव २०८०र८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोज महिनामा तरकारी, जडीबुटी, प्लाइडका सामान, अम्रिसोलगायत कूल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार रुपियाँको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत मुलुकमा निर्यात भएको थियो ।

Advertisement

Advertisement