सेना र सरकारै लाग्दा समेत लोकप्रिय नेता खान पक्षधर सयभन्दा धेरै स्वतन्त्र साँसदहरु विजयी

Advertisement

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले बिहीबार भएको आम निर्वाचनको पूर्ण परिणाम घोषणा गरेको छ । 

राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार पूर्वप्रधानमन्त्री एवं लोकप्रिय नेता इमरान खान समर्थक स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले ७५ सिट प्राप्त गरेको छ । 

Advertisement

पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी संसदीय दलले ५४ सिट प्राप्त गरेको छ । मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तानले १७ सिट, जमियत उलामा–ए–इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम–ए–पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल पार्टीले दुई–दुई सिट पाएका छन् । 

ई–मुस्लिमीन पाकिस्तान, पाकिस्तान मुस्लिम लीग (जिया–उल–हक शहीद), पश्तुनख्वा नेशनल अवामी पार्टी पाकिस्तान, बलुचिस्तान अवामी पार्टी, पश्तुनख्वा मिलि अवामी पार्टी र नेशनल पार्टीले एक–एक सिट पाएको छ । 

सेनासमेत लागेर सरकारी पक्षले प्रहरी प्रशासनको बल प्रयोग गर्दासमेत खान पक्षका स्वतन्त्र उम्मेदवारहरुले भारी मात्रामा जित हासिल गरेका हुन् । सेनासँग सम्वन्ध बिग्रिएपछि खानलाई विभिन्न मुद्दा लगाएर दशौं बर्षसम्म जेल सजाय सुनाउने काम भएको छ । यद्यपि पाकिस्तानी ठूलो जनमत भने खानको पक्षमा छ । निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन नसकेको, निर्वाचनको दिन मोवाइल सेवा बन्द गर्ने काम गरेको औंल्याएका छन् । खानको पार्टीको चुनाव चिन्हसमेत खारेज गरेर पार्टीबाट उम्मेदवारी दिननमिल्ने बनाइएपछि खान पक्षधरहरुले स्वतन्त्ररुपमा उम्मेदपारी दिएका थिए । 

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभाका २६६ सिटमध्ये २६२ सिटको नतिजा आगामी पाँच वर्षे कार्यकालका लागि सरकार चयन गर्ने घोषणा गरेको थियो । देशको निर्वाचन आयोगले उम्मेदवारको मृत्यु भएपछि एक सिटको मतदान स्थगित गरेको र एक सिटको नतिजा रोकेर आंशिक पुनः मतदान गर्ने घोषणा गरेको छ ।

Advertisement

Advertisement