‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याऔं'

Advertisement

गण्डकी । पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । 

आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा उनीहरुको जोड छ । 

Advertisement

पोखरामा जारी नेपाल साहित्यको महोत्सवको ‘अर्थमन्त्री हुनुको अर्थ’ सत्रमा पत्रकार किरण नेपालसँगको संवादमा पूर्वअर्थमन्त्री पुनले सम्भावना पहिचान गरेरै सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ, चलाउन सकिन्छ, बरु सरकारले छिटो हवाइमार्ग खुला गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न सार्थक पहल थाल्नुपर्छ,’ उनले भने । 

विशाल जनसंख्या भएका छिमेकी देश चीन र भारतबाट बर्सेनि करोडौँ मानिस विदेश घुम्न निस्कने गरेको सुनाउँदै पर्यटकीय दृष्टिले पनि पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको पूर्वअर्थमन्त्री पुनले बताए । 

पूर्वअर्थमन्त्री पाण्डेले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुनुमा भूराजनीतिक जटिलता पनि एउटा कारक रहेको धारणा राखे । ‘भूराजनीतिक विषय कहिलेकाहीँ हाम्रो वशभन्दा बाहिर हुन्छ । विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूराजनीतिक असर र प्रभावलाई पनि राम्रोसँग विचार गर्नुपर्छ,’ उनले भने, ‘ठूलो ऋण लगानीमा बनेको विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा मुलुकलाई घाटा भइरहेको छ, जनस्तरबाट आलोचना भइरहेको छ ।’

हवाइमार्ग खुला गर्नेदेखि आवश्यक पूर्वाधार तयार गरेर विमानस्थललाई चाँडो पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए । 

Advertisement

Advertisement