काठमाडौँ । हिमाल अस्पताल ज्ञानेश्वर काठमाडौंको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको छ ।
काठमाडौं महानगरपालिकाबाट आज भएको अनुगमनका क्रममा स्रोतमा फोहोर छुट्याउन राखिएका बाल्टिनमा रंग संकेत मिलेको देखिएन । सबै खालका बाल्टिनमा सबै खालका फोहोर हाल्ने गरिएको पाइयो । वरिष्ठ इञ्जिनियर निशा कोइराला अवस्थाका बारेमा जानकारी दिँदै भन्छिन्, ‘वर्गीकृत फोहोरको ढुवानी गर्ने ट्रली देखिएनन् । ढुवानी गरेर भण्डारण गर्ने ठाउँमा लैजाने बाटो साँघुरो छ । यसकारण बोकेको फोहोरले अक्सिजन सिलिण्डरलगायत अन्य सामान छुने जोखिम छ ।’
अटोक्लेभ मेसिन चलाउने गरिएको छ तर प्रेसर र तापक्रम मापन गरिएको छैन । अटोक्लेभ मेसिन चलाउने कर्मचारीले यसको सञ्चालन प्रक्रिया सुनाउँदै भने, ‘एक घण्टा उमाल्ने गरेको छ ।’ उनलाई प्रश्न सोध्दै जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले भने, ‘यो मेसिन त विग्रिएको जस्तो छ । प्रेसर कसरी थाहा पाउनु हुन्छ ?’ उत्तरमा उने, ‘पानी त उम्लिहाल्छ नि ।’ अस्पतालका कर्मचारीले अटोक्लेभमा राख्ने फोहोर देखाउँदै भने, ‘आज सबै खालको फोहोर मिसाएर पठाएछन् ।’
‘उहाँले कुनै तालिम पाउनुभएको छैन । मेसिनको पूर्ण कार्य प्रक्रिया थाहा छैन । भाँडोमा फोहोर हाल्ने, प्लगमा जोडेर पानी तताउने मात्र थाहा छ । यसबाट संक्रमित फोहोर कसरी संक्रमणमुक्त भयो भन्ने कसैले भन्न सक्ने देखिएन ।’ श्रेष्ठले जानकारी दिए ।
फोहोर व्यवस्थापनको प्रक्रियाका लागि जिम्मेवार कोही पदाधिकारी तोकिएको छैन । माथिल्लो तलामा अस्पतालमा प्रयोग भएका कपडा धुने ठाउँ छ । ती कपडा कसरी संक्रमणमुक्त हुन्छन् । धुनेलाई थाहा छैन । अस्पतालले चलाएको औषधि पसलमा एक्स्पायरी जोन छैन ।
अस्पतालले ब्लड बैंकमा फोहोर वर्गीकरणको राम्रो व्यवस्था गरेको छ । प्रयोगशालामा पहिलो सम्पर्क हुँदाको सुरक्षा र सावधानी राम्रो छ । उत्पादनमा भएको वर्गीकरणपछिको ढुवानी र प्रशोधनको व्यवस्थापन कमजोर छ । कति फोहोर उत्पादन हुन्छ, कुन फोहोर कसरी व्यवस्थापन भइरहेको छ, अभिलेख छैन ।
अनुगमन टोलीले तत्काल प्रणाली सुधार गर्न निर्देशन दिएको छ ।
चावहिलमा भएको हेल्पिङ् ह्याण्डस सामुदायिक अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्नका लागि ठाउँ ठाउँमा छ वटा बाल्टिन राखेको छ ।
बाल्टिनमा कुन फोहोर राख्ने हो, त्यसको विवरण भित्तामा लेखि दिएको छ । स्रोतमा भएका सबै बाल्टिनमा तोकिएकै अनुसार फोहोर राखेको पाइयो । आकस्मिक कक्षको एउटा नीलो बाल्टिनमा संक्रमण भएको फोहोर मिसिएको देखियो ।
स्रोतमा वर्गीकरण व्यवस्था राम्रो भइकन पनि अस्पतालले ढुवानी गर्ने प्रबन्ध भने राम्रो गर्न सकेको पाइएन । कोइरालाकाअनुसार वर्गीकृत फोहोर कर्मचारीले प्लाष्टिकमा हालेर बोकेर प्रशोधन गर्ने ठाउँमा लैजाने गरेको पाइयो । ३० किलो क्षमताको अटोक्लेभ छ । यसलाई व्यवस्थित राखेको छैन । यी पक्षमा सुधार गर्न अस्पताललाई सुझाव दिइएको छ ।
१ सय बेडको अस्पतालमा दैनिक ४ सय बढी विरामी विभिन्न रोगको परीक्षणका लागि आउने गरेको नर्सिङ् प्रमुख भारती भेटवालले जानकारीँ दिइन् ।
एउटा वेडबाट औसतमा दैनिक १ हजार २ सय ग्राम फोहोर उत्पादन हुन्छ । यसरी संकलन गरिने फोहोरमध्ये मासिक रुपमा २५ देखि ३० किलोग्रामसम्म जोखिमयुक्त फोहोर उत्पादन हुने गरेको भेटवालले जानकारी दिइन् ।
उत्पादित फोहोरको वर्गीकरण गर्ने तथा अन्तिम व्यवस्थापनका लागि लैजाने काम निजी संस्थाले गरिरहेको छ ।