काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताएका छन् ।
शनिवार राजधानीमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रियामा उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए ।
सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा भने नपारेको बताउँदै पौडेलले सामाजिक सञ्जालका गलत सूचनाहरु रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोशिस हुनुपर्ने बताए ।
उनले भने, ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्नेकुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना संप्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोशिस गर्नुपर्दछ ।’
पौडेलले सामाजिक सञ्जाल, एआई, आईटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ कि सक्दैन ? भन्ने प्रश्न गरे । उनले राजनीतिक दलहरु वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताए । पौडेलले कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु नहुने बताए । उनले लोकतन्त्रको प्राण नै आलोचना भएको जिकिर गरे ।