पोखरा विमानस्थलबाट व्यवसायिक उडान गर्न आवश्यक पहल र समन्वय गर्छुः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न सरकारले संवद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने बताएका छन् । 

आईतवार पोखरामा आयोजित कार्यक्रममा उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने बताए । 

Advertisement

पोखराको सांस्कृति र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले थप पहल तथा समन्वय गर्ने दाहालले बताए । उनले गण्डकीको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी राजमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउने बताए । 

दाहालले फेवाताल संरक्षणका बारेमा स्थानीय सरकार र जनताले खेलेको भुमिकाप्रति सम्मान व्यक्त गर्दै सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पुर्याउन पहल गर्ने बताए । 

पोखराको पर्यटन प्रवद्र्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अलम्वन गर्ने बारेमा पनि सचेत रहेको उनले बताए । दाहालले भने ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवाहरुबाट व्यवसायिक उडानहरुको लागि संवद्ध पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मलाई विश्वास छ । जसरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति म आफैँले पनि धेरै मेहनत गरेको छु । अब यसमा अन्तर्राष्ट्रिय उडान नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र यसको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प मैले लिएको जानकारी गराउन चाहन्छु । पोखराको सांस्कृति र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।’ 

उनले पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास व्यक्त गरे । दाहालले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रुपमा विकास गर्न सरकारले आउने दिनमा उच्च प्राथमिकतामा राख्ने बताए । 

दाहालले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिने बताए । पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानी कर्ताहरुबाट लगानी आकर्षित गर्न सरकारले सहजीकरणको निम्ति आवश्यक पहल गर्ने बताए । 

Advertisement

Advertisement