काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक मंगलबार पनि स्थगित भएको छ ।
आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको दोस्रो बैठकमा अवरोध सिर्जना गरिएको हो । सभामुख देवराज घिमिरेले बैठकको कारवाही अघि बढाउनासाथ कांग्रेसका साँसदहरु रोष्टम घेर्न पुगेका थिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रश्तुत गर्ने, राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्नेलगायतका कार्यसूचि रहे पनि अवरोधका कारण स्थगित गरियो ।
काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । तर गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै नयाँ दलप्रतिको जनताको आकर्षण रोक्न यस्तो अवरोध सिर्जना गरिएको बताउँदै आएका छन् ।
लामो समयदेखि संसद तमासा बन्दा जनताका धेरै मुद्दा उठ्न पाएका छैनन् । संस्दको अर्को बैठक जेठ ३ गते बिहीवार ११ बजे बस्नेगरी बोलाइएको छ ।