काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपियाँ रहेको खुलासा भएको छ ।
मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भएअनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे चार करोड रुपियाँ पुग्छ ।
मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा एक करोड १५ लाख रुपियाँ छ भने एभरेस्ट बैंकमा ३७ लाख रुपियाँ रहेको छ । यो रकम आफ्नो पारिश्रमिक भएको श्रेष्ठले उल्लेख गरेकी छन् ।
त्यस्तै, उनका श्रीमान पोल्याण्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा एक लाख ८९ हजार ७०० डलर रहेको विवरणमा उल्लेख छ । यो दुई करोड ४१ लाख रुपियाँ बराबरको रकम हो ।
त्यस्तै, उनकै श्रीमानको नाममा पोल्याण्डको मुद्रा पनि एक लाख ८० हजार रुपियाँ (६१ लाख ३२ हजार रुपियाँ) रहेको छ । यो विदेशी मुद्रा श्रीमानको परिवारले दिएको सुमना श्रेष्ठले दावी गरेकी छन् ।
शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा आठ रोपनी छ आना तीन पैसा जग्गा छ । उनले उक्त जग्गा पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।
मन्त्री श्रेष्ठले विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको एक तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको एक सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण सार्वजनिक गरेकी छिन् ।
त्यस्तै एक थान स्कुटर, एक थान विद्युतीय सवारी साधन (गाडी) पनि उनको सम्पत्ति विवरणमा रहेको छ ।