सार्वजनिक संस्थानबाट सरकारले १० अर्ब ४५ लाख लाभांश र १७ अर्ब ३९ करोड आयकर उठायो

Advertisement

काठमाडौं । सरकारले आफ्नो लगानी भएको सार्वजनिक संस्थानबाट पाउने लाभांश ६२.५४ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०–८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । हाल सरकारको स्वामित्को ४४ संस्थान छन् । 

त्यसमा गत आर्थिक वर्ष २६ वटा नाफामा र १५ नोक्सानीमा सञ्चालित भए । बाँकी तीन सार्वजनिक संस्थान बन्द अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

नाफामा सञ्चालन भएका संस्थानबाट आव २०७९–८० मा सरकारले १० अर्व ४५ लाख रुपियाँ लाभांश प्राप्त गरेको छ । नाफामा सञ्चालन भएका संस्थानबाट अघिल्लो आव २०७८–७९ मा सरकारले छ अर्ब १५ करोड ५१ लाख रुपियाँ लाभांश प्राप्त गरेको थियो । त्योअनुसार यस्तो लाभांश ६२.५४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आव २०७८–७९ मा २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए । 

गत आर्थिक वर्षमा सरकारलाई  सार्वजनिक संस्थानबाट १७ अर्ब ३९ करोड ४६ लाख रुपियाँ आयकर प्राप्त भएको थियो । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त भएको थियो । गत आर्थिक वर्षमा सङ्कलन भएको सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ६.९७ प्रतिशत रहेको छ ।  

गत आर्थिक वर्षसम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व ४७ अर्ब ३६ करोड रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा यस्तो दायित्व ५२ अर्ब ८७ करोड दुई लाख पुगेको थियो । गत आर्थिक वर्षमा कोषमा व्यवस्था नभएको दायित्व आर्थिक वर्ष २०७८–७९ वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको बताइएको छ । 

गत आर्थिक वर्षमा सार्वजनिक संस्थानमा कार्यतर कर्मचारीको संख्या ३२ हजार १८० पुगेको छ । आव २०७८–७९ मा सार्वजनिक संस्थानमा २९ हजार ७३६ कर्मचारी कार्यरत थिए । त्योअनुसार गत आवमा सार्वजनिक संस्थानमा दुई हजार ४४४ कर्मचारी थपिएको देखिन्छ । 

२०८० असारसम्म सार्वजनिक संस्थानमा सरकारको शेयर लगानी तीन खर्ब ७९ अर्व ७२ करोड १६ लाख रुपियाँ र ऋण लगानी दुई खर्व ८१ अर्ब ३८ करोड ५८ लाख रुयियाँ गरि कुल छ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ । 
   
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १४.८७ प्रतिशतले बढेर छ खर्ब ६१ अर्ब एक करोड २९ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा संस्थानको कुल सञ्चालन आय पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपियाँ रहेको थियो । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १२.२८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ११.६७ प्रतिशत रहेको थियो ।

Advertisement

Advertisement