युवराज अधिकारी निलम्बन विवाद, निगमका अध्यक्ष भन्दैमा नियम मिच्नेलाई छुट दिइन्नः क्यान

Advertisement

काठमाडौं । नियम मिचेर बिना अनुमति जहाज मर्मत गर्न पठाएपछि निलम्बनमा परेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूले प्रक्रिया पुर्याएर जहाज मर्मत गर्न पठाएको दावी गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सो कुरा अस्वीकार गरेको छ । 

क्यानले नियम मिचेर बिना अनुमति सी–चेक गर्न वाइडबडी जहाज इटली पठाएको पाइएको बताउँदै सरकारी स्वामित्वको संस्थाको अध्यक्ष भन्दैमा अधिकारीलाई छुट दिन नमिल्ने स्पष्ट पारेको छ । यस प्रकरणमा क्यानले अध्यक्ष अधिकारीसहित निगमका अन्य अधिकारी र पाइलटहरुलाई कामकारवाही गर्न रोक लगाएको छ । 

Advertisement

यता अधिकारीले भने नियमित मर्मतका लागि टेण्डर गरेर नै जहाज मर्मत गर्न पठाएको बताउँदै नियम र प्रक्रिया पुर्याएर जहाज पठाएको दावी गरेको छ । तर क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सो कुरा अस्वीकार गरे । 

उनले भने, ‘निगमले उड्डयन कानुन उल्लङ्घन गरेकै हो । नियम त बराबर लागू हुन्छ सबैलाई । एउटा वायुसेवा कम्पनीलाई एउटा नियम, अर्कोलाई अर्को नियम भन्ने हुँदैन् । हामी सबैले नियम कानुन पालना गर्ने कि नगर्ने ? सरकार अथवा संसदले बनाएका एेन र सरकारले बनाएको नियम सबै वायुसेवा कम्पनी र त्यसको अख्तियार प्राप्त अधिकारीहरुले पालना गर्नुपर्छ । निजी कम्पनीलाई निगम लाग्ने, सरकारी स्वामित्वको प्रमुख भन्दैमा छोड्न मिल्दैन् हामीले ।’ 

भुलले सन् १९५७ मा हवाई विभागको स्थापना भएको, त्यही विभाग अहिलेको क्यान हो भन्दै १९५८ जुलाई १ मा निगम स्थापना भएकोले को जेठो हो ? भनेर प्रश्न पनि गरे । ‘यहाँ जेठो र कान्छोको कुरा होइन, यहाँ नियामकीय निकायले बनाएको मापदण्डभित्र सेवा प्रदायक बस्ने कि नबस्ने ? भन्ने प्रश्न हो । कसैलाई विशेष छुट छैन्’ उनले भने ।  

निलम्बित हुनेमा निगमका अध्यक्ष अधिकारीबाहेक अपरेसन डाइरेक्टर दीपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल, रमन घिमिरे र क्यामो म्याजेनर ज्ञानबहादुर कुँवर छन् । प्राधिकरणको पत्रअनुसार अर्को निर्णय नगरेसम्म उनीहरुले कुनै पनि निर्णय र कामकारवाही गर्न पाउने छैनन । अधिकारीलाई तत्कालिन सरकारले नेता झलनाथ खनालको कोटाबाट निगमको अध्यक्ष नियुक्त गरेको थियो । 

प्राधिकरणले अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रुपमा काम गर्न रोक लगाउँदै पत्र काटेको छ । उनले वाइडबडी जहाज बिना अनुमति मर्मतका लागि पठाएका थिए । त्यसरी पठाउँदा उनले सी–चेक गराउने कम्पनीको समेत अनुमति नलिएको पाइएको प्राधिकरणको भनाई छ ।
 

Advertisement

Advertisement