अन्नपूर्ण दिवसमा दावा याङ्जुम, लाक्पा देण्डी  र पूर्णिमा सम्मानित

Advertisement

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणको ७४ वर्ष पूरा भएको छ । उक्त अवसरमा पोखरामा आयोजित ७४औं अन्नपूर्ण दिवसमा दावा याङ्जुम शेर्पा, लाक्पा देण्डी शेर्पा, पूर्णिमा श्रेष्ठलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गरेका छन् । 

दावा याङ्जुम शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला हुन् । उनले पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ अग्ला शिखरहरुमध्ये १३ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरिसकेकी छन् । 

Advertisement

दोलखा रोल्वालिङमा जन्मिएका उनले शिशपाङ्मा हिमाल मात्र आरोहण गर्न बाँकी रहेको छ । शिशपाङ्माको आरोहणसँगै उनी विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो महिला बन्ने छिन् । 

विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले १० दिनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनले सगरमाथाको ११औं पटक सफल आरोहण गरिसकेका छन् । 

शेर्पाले सन् २०१८ को वसन्त ऋतुमा १० दिनमा १८ घण्टा ३० मिनेटमा ३ पटक सगरमाथाको सफल आरोहण गरेसँगै सबैभन्दा छिटो समय सगरमाथा चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । उनले सगरमाथा, मनास्लु हिमाल, केटु, नंगा पर्वत, धौलागिरी, कञ्चनजंगा, ल्होत्से लगायत हिमालको सफल आरोहण गरेका छन् । साथै, नङ्गा पर्वत र मनास्लु हिमाल उनले विना अक्सिजन आरोहण गरेका हुन् ।  

फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले यही वसन्त ऋतृमा १३ दिनमा तीन पटक विश्वको सर्वोच्च शिखर पुगेर एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण कीर्तिमान बनाएकी हुन् । 
 

Advertisement

Advertisement