वायुसेवा निगम सुधार्न नयाँ नेतृत्व चाहिन्छ, पर्यटनमन्त्रीले खुट्टा कमाउनु हुन्नः थपलिया

Advertisement

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले सरकारले हवाई सेवामा लागिएको मूल्य अभिवृद्धि कर (भ्याट) र समग्र पर्यटन क्षेत्रमा लगाएको करको समीक्षा हुनुपर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले हवाई भाडामा लगाइएको भ्याटको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताए । थपलियाले भने, ‘सरकारले हवाई सेवामा लगाएको अव्यवहारिक भ्याट र समग्र टुरिजम क्षेत्रमा लगाएको करहरुमा समीक्षा गर्नुपर्छ । हवाई भाडा महँगो हुनलाई भ्याट मात्र नभएर के कस्ता कारण छन् ? भन्ने विषयमा पर्यटन मन्त्रालयले पनि समिति गठन गरी अध्ययन गर्न जरुरी छ ।’

Advertisement

नेपाल पर्यटन बोर्डले नयाँ सीईओ पाएकोमा पर्यटन क्षेत्रका संघसंस्थाहरुलाई खुशी लागेको उनले सुनाए । थपलियाले नयाँ सीईओबाट आफूहरुको समस्या सुनुवाई हुने आशा व्यक्त गरे । उनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बोर्ड गठन भएकाले सोही मोडलमा यसले काम गर्नुपर्नेमा बढी राजनीतिक हस्तक्षेप हुन पुगेको गुनासो गरे । 

थपलियाको भनाई थियो, ‘नेपालको पर्यटन विकासका लागि पर्यटन बोर्डले अघि बढाउने कामलाई सफल बनाउन नाट्टा जस्ता विभिन्न छाता संघ संगठन साथमा छौं । तर बोर्डको कार्यविधि, विभिन्न नीति नियमले काममा अवरोध भइरहेको छ । बढी राजनीतिक हस्तक्षेप भइरहेको छ । बोर्डलाई सशक्तरुपमा अघि बढाउन नयाँ सीईओले ध्यान दिन जरुरी छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पनि बोर्डको रोकिएका कामहरुको टेबुलमा बसेर समाधान गर्नुपर्ने थपलियाले बताए । उनले भने, ‘समस्याहरु जहाँ रोकिएका छ, त्यहींबाट सुरु गरौं । त्यसलाई खोतलौं र समाधान गरौं । पर्यटन बोर्डमा काम गर्ने ७० जनाभन्दा बढी कर्मचारीको पनि उर्जा मरेको देख्छु । बेथितिहरु हटाउने र उनीहरुलाई उत्प्रोरित गर्ने काम गर्नुपर्छ ।’

थपलियाले पछिल्लो समय नेपालमा पर्यटक घटेको बताए । यो हाम्रो लागि भयप्रद मुद्दा हो भन्दै उनले थपे, ‘नीति नियम सुधार्ने र समस्या समाधान नगर्ने हो भने अभैm घट्छ  । यस संकेतलाई सानोरुपमा नलिन म सरकारलाई आग्रह गर्छु ।’ 

हरेक नयाँ पर्यटनमन्त्री आउँदा नीतिगत परिवर्तन गर्ने र नयाँ बनेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने गरेको भन्दै थपलियाले मन्त्री र सचिवहरुको छिटो छिटो हेरफेर र अस्थिर नीति नै पर्यटन क्षेत्रको बाधक भएको बताए । उनले राष्ट्रिय ध्वजाबाहाक उडाउने नेपाल वायुसेवा निगमको सुधार र यसको सेवा विस्तार नगरी उपाय नरहेको बताए । थपलियाले निगम सुधार गर्ने हो भने यसमा नयाँ नेतृत्व आवश्यक पर्ने भन्दै अहिलेको नेतृत्वले सुधार गर्न नसक्ने बताए । 

उनले भने, ‘निगमलाई हाँक्नसक्ने सबल नेतृत्वको खाँचो छ जोसँग नेपालको उड्डयन क्षेत्रमा छलाङ मार्नसक्ने क्षमता होस् । निगममा ‘लिडर’ आवश्यता छ । त्यसको लागि निजी क्षेत्रले कहाँ के गर्नुपर्ने हुन्छ ? हामी हजार जनाको समूह लिएर आउन तयार छौं ।’ पर्यटन मन्त्रीले नेपाल वायुसेवा निगमको सुधारका सम्वन्धमा खुट्टा नकमाई निर्णय गर्न थपलियाले सुझाव पनि दिए । 

उनले पर्यटन दशकको घोषणालाई कार्यान्वयन गर्नुपर्ने र सो अवधिमा पर्यटन पूर्वाधारको विकास गर्नुपर्ने बताए । थपलियाले साथै, उक्त अवधिमा नयाँ विमानस्थल बनाउनेदेखि नयाँ जहाजहरु थप्नेसम्मको काम गर्न सकिने बताए । त्यसो नगर्ने हो भने पर्यटन विकासमा नेपाल पछि पर्ने उनले बताए । 
 

Advertisement