तातोपानी नाकामा दुई सय र केरुङ्गमा डेढ सय विद्युतीय गाडी अलपत्र

Advertisement

काठमाडौं । समयमा नै भन्सार जाँचपास नहुँदा उत्तरतर्फका दुईवटा भन्सार नाकामा सयौं गाडी अलपत्र परेका छन् । भन्सार विभागका अनुसार तातोपानी नाकामा २ सय वटा र रसुवागढी (केरुङ्ग) भन्सार नाकामा करिब डेढ सय गरी ३ सय ५० वटा विद्युतीय गाडी अलपत्र परेको हो ।

खासगरी पछिल्लो समय चिनियाँ विद्युतीय गाडी (ईभी) आयातको केन्द्रमा दुईवटा नाका ‘तातोपानी भन्सार’ र ‘रसुवागढी भन्सार’ बनिरहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार भन्दा बढी विद्युतीय गाडी आयात भएकोमा यो वर्षको पहिलो र दोस्रो महिनामा नै एक हजार बढी विद्युतीय गाडी आयात भइसकेका छन् ।
यस्तोमा ईभी आयातको प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा पछिल्लो समय करिब साढे ३ सय गाडी थन्किएको भन्सार कार्यालयले जनाएको छ ।

Advertisement

‘विभिन्न ब्राण्डका करिब १५० चिनियाँ गाडी भन्सार कार्यालयमा आइपुगेका छन् । तर, समयमा नै जाँचपास हुन नसक्दा गाडीहरु वेवारिसे बन्न पुगेका छन्, ‘रसुवागढी भन्सार कार्यालय प्रमुख तुलसी प्रसाद भट्टराईले कर्पोरेट नेपालसँग भने, ‘कति गाडी रोडमा, कति पाखामा त कति गाडी बारीका पाटमा पार्किङ्ग गरिएका छन् ।’

रसुवागढी भन्सार कार्यालयको आफ्नै पार्किङ्ग क्षेत्र नहुँदा आएका गाडीहरु वेवारिसे बन्न पुगेका हुन् । व्यवसायीहरुले भन्सार जाँचपासका लागि ढिलाई गर्दा पनि समस्या आएको भन्सार प्रमुख भट्टराईको भनाइ छ । 

तर, यता तातोपानी भन्सार कार्यालयले भने पार्किङ्ग क्षेत्र छुट्याएको छ । भन्सार कार्यालय हुँदै आउने सवारी साधनहरुलाई भन्सार कार्यालयले आफ्नो भन्सार र्याडमा राख्न दिने गरेको छ भने पार्किङ्ग गरे बापत शुल्क उठाउने गर्छ । 
भदौ महिनामा मात्र यी दुई भन्सार कार्यालयले झण्डै साढे ४ अर्ब रुपैयाँ राजस्व उठाएकोमा सवारी आयात बढ्दै गर्दा थप राजस्व बढ्ने अनुमान गरेको छ । भन्सार विन्दुमा आएर थन्किएका गाडीहरु एकैपटक जाँचपास हुने हो भने पनि एकैपटक अर्बौ राजस्व बढ्ने भन्सार कार्यालयको भनाइ छ । 

तर, गाडी आयातकर्ता व्यवसायीले यता गाडीको बुकिङ्गसँगै अग्रिम पेश्की नलिदासम्म अर्को गाडीको भन्सार जाँचपास नगरिदिने हुँदा समस्या भएको तातोपानी भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईको भनाइ छ ।

गाडीको डिमान्ड अनुसार बैंकिङ्ग प्रोसेसमा समय लाग्दा पनि गाडीको भन्सार जाँचपास हुन समय लाग्ने गरेको उनले जानकारी दिए । 

Advertisement

Advertisement