काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् ।
निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको भन्दै मंगलबार संसद भवन परिसरमा उनले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको बताए ।
भण्डारीले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘बजेटलाई कार्यान्वयनतर्फ जोड दिने हो भने सबै बजेटहरु यस्तै हुन र यो घाटा बजेट पनि हो । यसको आधारमा नैरश्यता भएको होइन । तर कुरा के हो भन्नु हुन्छ भने– प्रत्येक माननीयलाई मेरो जिल्लामा के पर्यो ? भन्ने हुन्छ नि । त्यसको कितावहरु आएको छैन मन्त्रालयहरुबाट । त्यसको आधारमा फेरि बजेटको एक्टिभिटी बढ्छ । सरकारले ल्याउनका निम्ति ढिलो गर्यो ।’
भण्डारीले थपे, ‘मैले हिजो सदनमा पनि बोलेको छु । यो संख्या नै बढी भयो । सुविधा पनि छैन, अध्ययन पनि छैन । सख्या बढि भयो । संख्या कसरी बढि भयो भने एकातिर इलेक्सनबाट लडेको छ । अर्कातिर समानुपातिकबाट आएको छ । एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ ? के लिएर जाने भन्ने छ ? र, संख्या बढि भएको कारणले पनि यो समस्या आएको हो । चौथो कुरा कोही गम्भीर छैन । एउटा मन्त्रीले नीति, कार्यक्रम ल्याउँछ । त्यही नीति, कार्यक्रम अर्को मन्त्रीले पढछ । कतिबेला सरकार जाने, कतिबेला मन्त्री जाने ? त्यो पनि छैन । त्यसैले यी समस्या देखिएको हो ।’
सांसद भण्डारीले स्थिर सरकार नहुँदा मुलुकमा धेरै समस्या देखिएको पनि बताए ।