काठमाडौं । विश्व कीर्तिमान कायम गर्ने दौडमा अनुमति नै नलिई सगरमाथाको कालापत्थरमा रेस्लिङ खेल आयोजना गरिएको छ ।
नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा यही गत मे २९ मा सगरमाथा दिवसको अवसरमा कालापत्थरमा अवैध रेस्लिङ आयोजना गरिएको हो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको नाममा गरिएको उक्त रेस्लिङ आयोजना गर्न कुनै अनुमति लिने वा दिने काम नभएको पर्यटन विभागले जनाएको छ । पछिल्लो समयमा विश्वकै अग्लो स्थानमा यस्ता गतिविधि गरेर कीर्तिमानी कायम गर्ने होडबाजी चल्दै आएको छ ।
विभाग स्रोत भन्छ, ‘सगरमाथास्थित कालापत्थरमा कीर्तिमान कायम गर्ने भनेर रेस्लिङ खेल गरिएछ । त्यो खेलका लागि यहाँबाट कुनै अनुमति दिएको छैन् । अनुमति माग पनि भएको छैन् । सगरमाथा राष्ट्रिय निकुञ्जले पनि रेस्लिङको लागि कुनै अनुमति नलिएको जनाएको छ । निकुञ्जका अनुसार मैत्रीपूर्ण रेस्लिङ खेलका लागि कुनै अनुमति नदिएको त्यहाँका कर्मचारीले बताएका हुन् ।
पर्यटन विभाग र सगरमाथा राष्ट्रिय निकुञ्जबाट अनुमति नलिर्इ सगरमाथा राष्ट्रिय निकुञ्जभित्र कुनै पनि गतिविधि गर्न पाइँदैन् । यसअघि पनि कालापत्थरमा सर्वाधिक उचाईमा नृत्य र सुटिङको लागि अनुमति लिएर कार्यक्रम गरिएको क्यामेराको पैसा तिरेर उनीहरुले प्रयोग गरेको स्रोतले जानकारी दियो ।
आयोजकले भने विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गरेको दावी गर्दै आएको छ । तर अनुमति नै नलिई उक्त कार्यक्रम गरिएकाले त्यसलाई मान्यता दिन नसकिने निकुन्जको भनाई छ ।
स्रोतको भनाई छ, ‘त्यही बेला भेटेको भए त्यही हिसाबले कारवाही गरिन्थ्यो । उनीहरु कार्यक्रम गरेर गइसकेकाले अहिले उनीहरुलाई के कसरी कारवाही गर्ने ? छलफल हुँदैछ । वृत्तचित्र निर्माण जस्ता कार्यक्रम गरेको भए त्यहीअनुसार जरिवाना गर्ने व्यवस्था भए पनि रेस्लिङ खेल गर्दा कस्तो कारवाही गर्ने ? भन्ने कुरा स्पष्ट कानुनी व्यवस्था छैन् । यो नयाँ कुरा भयो ।’
नेपाल महिला रेस्लिङ फाउण्डेशनका अध्यक्ष भगवती खड्काले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएको र पर्यटन विभागलाई पनि यसबारे जानकारी गराएर उक्त प्रतियोगिताको आयोजना गरेको दावी गरिन् ।
नेपालको पहिलो महिला रेस्लर भगवती खड्का र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच सम्पन्न मैत्रीपूर्ण प्रतिष्पर्धामा नेपालकी भगवती खड्का बिजयी भएको दावी गरिएको छ ।
पर्यटन विभागको पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० मा “साहसिक गतिविधि” भन्नाले स्किइङ्ग, हेलि स्किइङ्ग, जीपफ्लायर, बन्जि जम्पिङ्ग, क्यानोनिङ्ग, हेलि डाइभिङ्ग लगायत अन्य यस्तै गतिविधि सम्झनुपर्छ ।
अन्य साहसिक पर्यटकीय क्रियाकलापको अनुमति लिने सम्बन्धमाः
(१) माथि परिच्छेद ३ र ४ मा उल्लेख भए बाहेकका अन्य साहसिक पर्यटकीय कृयाकलाप संचालन गर्न अनुमतिका लागि महाशाखामा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन इजाजत प्राप्त ट्रेकिङ्ग एजेन्सी मार्पmत रु. १०।– दशको टिकट टाँसी देहायका कागजात संलग्न गरी दिनु पर्ने छः
(क) साहसिक क्रियाकलापको विवरण, संचालन हुने स्थान, अवधि र सम्भव भएसम्म नक्सा,
(ख) कृयाकलापमा सम्मिलित हुने दलका नेता तथा सदस्यहरुको एक÷एक प्रति फोटो सहित व्यक्तिगत विवरण, पासपोर्ट र भिसाको प्रमाणित प्रतिलिपि,
(ग) सम्बद्ध ट्रेकिङ्ग एजेन्सीको अवधि कायम रहेको ईजाजतपत्रको प्रमाणित प्रतिलिपि,
(घ) प्रति दलका लागि अनुमति शुल्क ९सलामी० वापत दुई हजार अमेरिकी डलर मन्त्रालयले तोकेको खातामा बुझाएको बैंक भौचर,
(ङ) प्रति दलका लागि फोहर व्यवस्थापन धरौटी वापत पाँच सय अमेरिकी डलर– फोहर व्यवस्थापनको प्रमाण पेश गरेपछि फिर्ता हुने मन्त्रालयले तोकेको धरौटी खातामा जम्मा गरेको बैंक भौचर,
(च) अनुमति प्राप्त दलले त्यस्तो साहसिक पर्यटकीय क्रियाकलाप समाप्त भएको मितिले पन्ध्र दिनभित्र सम्पूर्ण विवरणसहितको प्रतिवेदन महाशाखामा पेश गर्नु पर्ने,
(छ) यस सम्बन्धी अन्य कार्यविधि मन्त्रालयबाट निर्णय भए बमोजिम हुने ।