काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि पनि अन्तर –वालेट कारोबार निर्वाध हुनसकेको छैन् । राष्ट्र बैंकले २०७८ माघ १६ गते भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै असार २०८० सम्म वालेट कम्पनीहरूलाई एक–आपसमा अन्तरआबद्ध हुन निर्देशन दिएको थियो।
केन्द्रीय बैंकले निर्देशन दिएको दुई वर्षसम्म पनि वालेट कम्पनीहरू एक–आपसमा अन्तरआबद्ध हुन नसकेका हुन् । वालेट कम्पनीहरु एक अर्कामा अन्तरआवद्ध नहुँदा सेवाग्राहीहरुलाई कारोवार गर्न समस्या परिरहेको छ ।
वालेटहरुबीच अन्तरआवद्धता गर्न ठूला वालेट कम्पनीहरु अनिच्छुक रहेको एक वालेट कम्पनीका प्रतिनिधिको आरोप छ । उनले भने, ‘हामी त तयार नै छौं तर हामीले चाहेर मात्र के हुन्छ र ? ई–सेवा, खल्ती, आईएमई पे जस्ता ठूला कम्पनीहरुले यो विषयमा चासो नै देखाउँदैनन् ।’
राष्ट्र बैंकले कुनै एक भुक्तानी प्रणाली सञ्चालकमार्फत कारोवार गर्न निर्देशन दिएको र ई–सेवा फोन–पेसँग जोडिएर काम गरिरहेको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले जानकारी दिए ।
उनले भने, ‘हामीले राष्ट्र बैंकको निर्देशन अनुसार नै काम गरिरहेका छौं। फोन पे प्रयोगकर्ता जुनसुकै वालेटसगँ हाम्रो कारोबार हुन्छ ।’
भुक्तानी प्रणाली सञ्चालकहरु एक आपसमा अन्तरआवद्ध नहुँदा वालेट कम्पनीहरुबीच अन्तरआवद्धता हुन नसकेको खल्ती प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खड्काले बताए ।
‘हामीलाई अरु वालेटसँग अन्तरआवद्ध हुन कुनै समस्या छैन । खल्ती सबै भुक्तानी प्रणाली संचालकसँग आवद्ध पनि छ । फोन–पे र एनसीएचएल (नेपाल क्लियरिङ हाउस लि.)बीच अन्तर आवद्धता नभएकाले मूख्य समस्या परेको हो’ उनले भने ।
वालेट इमर्जिङ टेक्नोलोजी भएकाले व्यवस्थित गर्न समय लागेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । केही समयमा यो समस्या समाधान हुने उनको तर्क छ ।
‘दुईवटा वालेट अन्तरआवद्ध भइसके भन्ने सुनेको छु। अरुपनि बिस्तारै हुन्छन्,’ भट्टले भने ‘वालेट कम्पनी र भुक्तानी प्रदायकलाई पनि अन्तरआवद्ध नभई सुखै छैन् । उनीहरुले आफ्नो व्यवसाय विस्तार गर्न पनि अन्तरआवद्ध हुनै पर्छ,।’
हाल नेपालमा नौ वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र २६ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी) छन् ।