निर्मल पुर्जा एकपछि अर्को विवादमा, के हो रहस्य ?

Advertisement

काठमाडौं । सन् २०१९ अक्टोबर २९ मा पर्वतारोही निर्मल पुर्जाले चीनमा रहेको शिशापाङ्माको शिखरमा पाइला टेके। योसँगै उनी सबैभन्दा छोटो समयमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा आरोहण गर्ने कीर्तिमान बनाउन सफल भए । 

पुर्जाले ६ महिना ६ दिनमा यी सबै हिमाल चढ्न सफल भएका थिए । यो कीर्तिमानले उनले अन्तर्राष्ट्रिय जगतमा ख्याती पनि कमाए । यो कीर्तिमानसम्वन्धी डकुमेन्ट्री (वृत्तचित्र) नेटफ्लिक्समा उत्कृष्ठ मध्येमा पर्न सफल पनि भयो । 

Advertisement

यद्यपि पछि पुर्जाले बनाएको कीर्तिमान नर्वेकी पर्वतारोही क्रिस्टिन हरिला, नेपाली शेर्पा गाइड तेन्जेन लामा (शेर्पा)ले तोडिसकेका छन् । उनीहरुले ९३ दिनमा यी १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन् । 

म्याग्दीमा जन्मेका र हाल बेलायतमा बस्दै आएका निर्मल पुर्जाले १६ वर्ष सैनिक सेवामा बिताएका छन् । उनी छ वर्ष गोर्खा रेजिमेन्टमा र १० वर्ष युके स्पेशल फोर्स (एसबीएस)मा काम गरेका थिए । पुर्जा युके स्पेशल बोट सर्भिसमा सामेल हुने पहिलो गोर्खा सैनिक पनि बनेका थिए । त्यहाँबाट अवकाश लिएर उनी पर्वतारोहण क्षेत्रमा प्रवेश गरेका थिए । सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा आफूले सगरमाथा चढ्ने अठोट गरेको उनी बताउँछन् । 

त्यसपछि आरोहण पेशामा लागेका पुर्जाले सगरमाथा चढ्खा खिचेको ‘ट्राफिक जाम’को तस्वीरले विश्वमा धेरैको ध्यान खिचेको थियो । त्यसपछि उनी २०२१ जनवरी १७ मा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु हिउँदमा चढेर नयाँ कीर्तिमान बनाए । सो आरोहण प्रयासमा पुर्जासहित १० जना नेपाली थिए । 

यस्तै सफलता र परिचयपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गएको फागुन १२ पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्यो । यो सम्मको सम्मान पाउन सफल भएका उनी पछिल्लो समयमा एकपछि अर्को विवादमा पर्दै गएका छन् । 

सगरमाथा, लोत्से र मकालु पाँच दिनमा चढेका पुर्जा किन विवादमा पर्दै गएका छन् ? धेरैले यो विवाद उनको घमण्डका कारण सिर्जना भएको बताउँछन् भने कतिपय शेर्पा समुदायसँगको द्धन्द्धको रुपमा पनि हेर्छन् । पुर्जा मगर समुदायका हुन् । निर्मल पुर्जालाई अहिलेको अवस्थामा ल्याउन शेर्पाहरुको ठूलो योगदान र भूमिका रहे पनि उनले सो कुरालाई बिर्सिंदै गएको र सबै सफलता आफ्नो बलबुताले मात्रै गरेको रुपमा प्रस्तुत गर्ने गरेको एक शेर्पा गाइडले गुनासो गरे । 

उनले भने, ‘उहाँले अहिले चर्चा कमायो । पैसा पनि कमायो । त्यो भएर सबै कुरा बिर्सियो । हिमाल चढ्ने कुरा कुनै एक व्यक्तिको प्रयासले सफल हुने कुरा होइन् । खासगरी शेर्पा गाइड र सहयोगीहरुको ठूलो भूमिका हुन्छ । त्यो कुरालाई कसैले पनि बिर्सिन हुन्न ।’ पुर्जा बेलायती सेनामा जागिर खाएको र बेलायतकै नागरिकता लिएकाले पनि आफ्नो घमण्ड बढी भएको हुनसक्ने कतिपयको तर्क छ । 

पहिलो विवाद पुर्जाले बेलायती राहदानी लिएर पनि गैरकानुनी रुपमा नेपाली नागरिकता लिएको पाएको छ । उनले गैरकानुनीरूपमा नेपाल र बेलायतको नागरिकता लिएको समाचारहरुबाट खुलेको छ । सो कुराको अहिलेसम्म पुर्जाले निरुपण गरेका छैनन् । 

दोस्रो विवाद गत गत बर्ष असोज ५ गते साँझ करिब ६ बजेतिर पुर्जाको कम्पनी एलाइट एडभेन्चरको कार्यालय रहेको घरभित्र ठूलो बिस्फोटसहित आगलागी भयो । त्यस क्रममा कम्पनीमा कार्यरत तीन जनाको ज्यान पनि गयो भने उक्त कार्यालय भाडामा रहेको घरमा ठूलो क्षति भयो । यद्यपि घरधनीका सदस्यहरुको भने मृत्यु भएन् । घरधनीले आफूले अहिलेसम्म उचित क्षतिपूर्ति नभएको भन्दै विरोध गर्दै आएका छन् । सो कुरालाई सल्टाउन नसक्दा पुर्जा पटक पटक पीडित पक्षको आलोचना र घेराबन्दीमा पर्दै आएका छन् । 

तेस्रो विवाद पुर्जाले जेठ १३ गते सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरी काटिएकाले आरोहणमा समस्या भएको भ्रम फैलाएको र गलत सूचना प्रवाह गरेको पर्यटन व्यवसायीहरुको आरोप छ । पुर्जाले तथ्य नबुझी नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको उनीहरुले बताउँदै आएका छन् । यस विषयमा पुर्जासहितका व्यक्तिमाथि पर्यटन विभागले छानबिन पनि गरिरहेको छ । आरोहीहरुले काटिएको भनिएको डोरी अहिलेको नभई पूरानो भएको र हिमालमा ढुंगाहरु खसिरहने भएकाले ढुंगा लागेर काटिएको हुनसक्ने अनुमान गर्छन् । 

चौथो विवाद यौन दुर्व्यवहारको छ । पुर्जासँगै पर्वतारोहणमा सहभागी महिला आरोहीले आफूहरुमाथि उनले यौन दुर्व्यवहार गरेको गम्भीर आरोप अमेरिकी ‘द न्युयोर्क टाइम्स’मा प्रकाशित भयो । सो कुरा नेपालका सञ्चार माध्यमले पनि प्रकाशित गरे । पर्वतारोही तथा पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्त्सले आफ्नो आत्मकथामा ‘एक धेरै प्रसिद्ध पुरुष आरोही’ले आफूमाथि यौन दुर्व्यवहार गरेको उल्लेख गरे पनि यथार्थ हो वा अनर्गल प्रचार मात्रै हो ? यथार्थ खोजविन नभई समाचार आउँदा नेपालको पर्वतीय पर्यटनमा नकारात्मक सन्देश प्रवाह भएको छ । 

पुर्जाले भने उक्त आरोप साँचो नभएको र ‘द न्युयोर्क टाइम्स’लाई आफूले त्यसको प्रमाण दिएको भन्दै धेरै तथ्य तोडमोड गरेर समाचार आएको, घटना भएको भनिएको दिन आफू काममा रहेको र अरु नै स्थानमा रहेको कुराको प्रमाण दिँदादिँदै पत्रिकाले एकतर्फी भनाइका आधारमा समाचार तयार पारेको दावी गरेका छन् । साथै, पुर्जाले यस आरोपमा एक दिन सत्यतथ्य बाहिर आउने आशा व्यक्त गरेका छन् । यौन दुर्व्यवहारको विषय मात्रै नभएर, पुर्जाका अन्य विवादहरु संसदमा समेत उठ्ने गरेका छन् । 

बेलायतकी महारानी स्वर्गीय एलिजावेथलाई भेटेर सम्मान पाउनेदेखि आफूले पढेको आफूले पढेको बेलायतको लगबोरग विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि समेत प्राप्त गरेका निर्मल पुर्जा एकपछि अर्को विवादमा पर्दै जानु र आलोचित हुँदै जाँदा उनको लोकप्रियता समेत खस्किँदै गएको छ । आफ्नो योगदान र लोकप्रियता बचाउन पनि उनले घमण्ड कम पारदर्शीता र जवाफदेहितालाई बढी जोड दिनुर्ने देखिन्छ । पुर्जा र उनका शुभचिन्तकहरुले भनेजस्तै प्रतिस्पर्धी तथा विरोधीहरुले गलत प्रचार र आरोप लगाएको हो भने सो कुरालाई पुर्जाले सार्वजनिक कार्यक्रममार्फत राख्नुपर्ने जरुरी देखिन्छ । 

कतारी राजकुमारी अस्मा अल थानीलाई समेत सगरमाथालगायतका हिमाल आरोहण गराउन गाइडको भूमिका खेलेका पुर्जा बदनाम हुँदा नेपालको हिमाल आरोहण र पर्वतीय पर्यटन क्षेत्रलाई समेत असर परेको छ । सो कुरालाई रोक्न पनि उनी बढी जिम्मेवार भएर भूमिका खेल्नुपर्ने जरुरी देखिन्छ । 

Advertisement

Advertisement