आयात घट्दा पनि बढ्यो भन्सार राजश्व, पेट्रोलियमबाट सरकारलाई आकर्षक आम्दानी

Advertisement

काठमाडौं । आयात घट्दा पनि आयातमार्फत बिभिन्न शीर्षकमा संकलन हुने कुल राजश्व भने भने बढेको छ । चालु आर्थिक बर्ष २०८०–८१ को ११ महिनामा नेपालको बस्तु आयात १.८४ प्रतिशतले घटेको छ । 

गत आवको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपियाँको बस्तु आयात भएको थियो । यो आवको ११ महिनामा नेपालको बस्तु आयात १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपियाँ पुगेको छ । यसरी आयात घट्दा पनि आयात मार्फत संकलन हुने राजश्व ११.७५ प्रतिशतले बढेको छ । 

Advertisement

समीक्षा अवधीमा आयातमार्फत तीन खर्ब ८४ अर्ब ४७ करोड ७९ लाख रपियाँ राजश्व उठेको छ । गत आवको सोही अवधीमा ती खर्ब ४४ अर्ब तीन करोड २७ लाख रुपियाँ यस्तो राजश्व उठेको थियो । गत आवभर भने तीन खर्ब ७७ अर्ब २६ करोड चार लाख रुपियाँ यस्तो राजश्व उठेको थियो । त्योअनुसार यो ११ महिनामा गत आवकै भन्दा धेरै राजश्व उठेको छ । 

समीक्षा अवधीमा सरकारको आम्दानी नौ खर्ब ४४ अर्ब ५९ करोड ९४ लाख रुपियाँ रहेको छ । त्यसको ४०.७० प्रतिशत हिस्सा आयातमार्फत  उठ्ने राजश्वले ओगटेको छ ।   

विशेषगरि, बढी कर लाग्ने वस्तुको आयात बढी हुँदा राजश्व बढी उठेको बताइन्छ । कुनै पनि वस्तु आयातमा सरकारले १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट)सहित विभिन्न शीर्षकमा कर उठाउने गर्छ । वस्तु अनुसार फरक फरक दरमा कर उठाइन्छ । सामान्यता अहिले पेट्रोलियम पदार्थ र निजी सवारी साधनमा बढी कर लगाइन्छ ।  भन्सार विभागले भन्सार छली गर्न खोज्दा पक्राउ गरेका सामानलाई लिलामीमा बिक्री गरेर पनि थप आम्दानी गर्छ । त्यो तथ्यांक भने यसमा समावेश छैन ।

नेपाल आयात बढ्नलाई नराम्रो पनि मानिन्छ । तर, नेपालको राजश्व प्रणाली आयातमै बढी निर्भर रहेको छ । त्यो अवस्थामा आयातमा हुने थपघटले पनि राजश्व प्रणाली र नेपालको अर्थतन्त्रलाई प्रभावित बनाइरहेको हुन्छ । 

समीक्षा अवधीमा डिजेलबाट सबैभन्दा धेरै राजश्व उठेको छ । एक खर्ब २९ अर्ब २० करोड २८ लाख रुपियाँको डिजेल आयात हुँदा ५० अर्ब ४८ करोड ७० लाख ८५ हजार रुपियाँ राजश्व उठेको छ । 
दोस्रो स्थानमा भने पेट्रोल रहेको छ । कुल ६२ अर्ब ८७ करोड ७३ लाख रुपियाँको पेट्रोल आयात हुँदा ३६ अर्ब ८ करोड ९२ लाख ४६ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । 

तेस्रो स्थानमा भने ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कार रहेको छ । समीक्षा अवधीमा १९ अर्ब ६७ करोड दुई लाख रुपियाँको यस्ता विद्युतीय कार आयात हुँदा नौ अर्ब ६५ करोड ४० लाख ७३ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । 

चाथौं नम्बरमा भने खाना पकाउने एलपीजी ग्याँस रहेको छ  । समीक्षा अवधीमा ५१ अर्ब ७ करोड २६ लाख रुपियाँको यस्ता ग्याँस आयात गर्दा नौ अर्ब ५२ करोड ७० लाख रुपियाँ राजश्व उठेको छ ।
यस्तै, एक हजारदेखि १५ सय सीसीसम्म क्षमता भएको पेट्रोल इन्जीनका गाडी आयात गर्दा ६ अर्ब ८५ करोड ६६ लाख ६४ हजार राजश्व प्राप्त भएको छ । समीक्षा अवधीमा यस्तो गाडीको आयात दुई अर्ब ६५ करोड ९४ लाख ५० हजार रुपियाँ रहेको छ । यसमा गाडीको आयात मुल्यभन्दा कर बढी तिर्न परेको देखिन्छ । 

Advertisement

Advertisement