कुनै समूहको प्रभावमा भन्सार महशुल निर्धारण नगरेको अर्थमन्त्रीको दावी, प्रमाण पेश गर्न चुनौति

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरुले पेश गरे सामना गर्न तयार रहेको बताएका छन् । 

मंगलवार प्रतिनिधिसभा बैठकमा उनले आफूले आर्थिक विधेयकमा कुनैपनि व्यवसायी समूहको प्रभाव र दबाबमा निर्धारण नगरेको स्पष्टीकरण दिएका हुन् । 

Advertisement

सांसदहरुले त्यस्तो प्रमाण संसद वा अन्य निकायमा पेश गरे सामान गर्न तयार रहेको भन्दै पुनले प्रमाण विनाका आरोपलाई रोष्टमबाट नै खारेज गर्ने बताए । उनले तयारी सामानहरुलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरुलाई सस्तो बनाउने सरकारको स्पष्ट नीति रहेको बताए । 

यस्तो नीतिले मुलुकभित्रको आन्तरिक उत्पादन बढ्ने भएकाले भन्सारतिर धेरै चिन्ता लिनुपर्ने अवस्था नपर्ने मन्त्री पुनले बताए । उनले आन्तरिक उत्पादन र बिक्रीवितरणतिर आउने अन्तःशुल्कहरु र मूल्य अभिवृद्धि करबाट मुलुकको राजश्व मुख्यरुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने विश्वास सरकारको रहेको भन्दै त्यही अनुसारका भन्सार नीति बनाएको बताए । 

मन्त्री पुनले एसेम्बल उद्योगहरुको हकमा भन्सार महशुल छुट दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले दिइरहेको बताए । उनले मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भए पनि मुलुक पछिल्लो समय बिस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएको दाबी गरे । पुनले आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पूरा हुने दाबी गरे । 

उनले भने, ‘भन्सार महशुलमा सरकारले जे सिद्धान्त लिएको छ । जसमा तयारी सामानहरुलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरुलाई सस्तो गर्ने स्पष्ट नीति छ । जसले मुलुकभित्रको आन्तरिक उत्पादन बढेर जान्छ । जसमा हामी भन्सारतिर धेरै चिन्ता लिनुपर्दैन । आन्तरिक उत्पादन र बिक्रिवितरणतिर आउने अन्तःशुल्कहरु र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्यरुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने हाम्रो विश्वास हो । त्यही अनुसारका भन्सार नीतिहरु छन् । एसेम्बल उद्योगहरुको हकमा बाहिरबाट पार्टपुर्जा ल्याउने र नेपालमा गाडी तथा मोटर साइकलहरु जोड्ने र भ्यालु एड वा मूल्य अभिवृद्धि नहुने तर भन्सार महशुल शुल्क कम गरे भन्सार चुहावट भयो भन्ने चर्चा भयो । यसमा धेरै भन्सार गुमेको छ तर दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले छुट दिइरहेका छौं । यसले मुलुकमा औधोगिकीकरण हुन्छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।’ 

पुनले थपे, ‘मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भएपनि मुलुक बिस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएका छौँ । सरकारले कुनै समूह विशेषलाई हिजो वा आज त्यसको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरियो भन्ने कुरा सोझै खारेज गर्छु । यदि माननियसँग प्रमाण र त्यस्तो लाग्छ भने सांसद वा बाहिर अन्य निकायमा पेश गरे सामना गर्न तयार छु । आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पुग्छौं । चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने महत्वकांक्षा र अस्वभाविक राखेका छैनौं । लक्ष्य पूरा गर्छौं । भन्सारलाई फेस,कन्ट्याक,पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा स्पष्ट छ ।’

उनले चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने अस्वभाविक महत्वकांक्षा नराखेकाले आगामी वर्ष राजश्वको लक्ष्य पूरा हुने बताए । उनले भन्सारलाई फेस, कन्ट्याक, पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा सरकार स्पष्ट नीति लिएर अघि बढेको बताए । 

Advertisement

Advertisement