सम्पत्ति शुद्धीकरणः १४ बर्षमा जम्मा ९७ वटा मुद्दा फछ्र्योट, नौ महिनामा १७ सय टुंग्याउने लक्ष्य

Advertisement

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभाग स्थापना भएपछिको विगत १४ बर्षमा जम्मा ९७ वटा मुद्दा मात्रै किनारा लगाए पनि अबको नौ महिनामा एक हजार सात सय मुद्दा टुंग्याउने महत्वकांक्षी लक्ष्य लिएको छ । 

सुस्त गतिमा काम हुँदै आएको विभागले अबको नौ महिनामा भारी मात्रामा सम्पत्ति शुद्धीकरणसम्वन्धी उजुरीहरु टुंग्याउने योजना बनाएको हो । हालै संशोधन भएको सम्पत्ति शुद्धीकरणसम्वन्धी कानुनअनुसार एक बर्षभित्र यस्ता मुद्दा टुंग्याउनुपर्ने बाध्यता छ । हाल विभागमा एक हजार सात सय मुद्दा दर्ता भएका छन् । 

Advertisement

ऐन जारी भएको मितिअनुसार अबको बाँकी नौ महिनामा अध्ययनमा रहेका सबै मुद्दाहरु टुंग्याउनुपर्ने बाध्यकारी व्यवस्था छ, जुन संभव देखिन्न । विभागका महानिर्देशक कमल भट्टराईले नौ महिनामा सबै मुद्दाको अनुसन्धान गरेर मुद्दा दर्ता पर्ने बाध्यता रहे पनि सो कुरा कठिन रहेको स्वीकार गर्दै आफूहरुले अधिकतम् उजुरीहरु टुंग्याउन प्रयास गर्ने बताए । 

उनले भने परेका सबै उजुरीहरुमध्ये कतिपय मुद्दा चलाउनुनपर्ने पनि होलान । अहिले हामीसँग ३२ जना अनुसन्धान अधिकृतहरु छन् । उनीहरुलाई हरेक महिना दुई वटा केशहरुको अनुसन्धान सक्न भनिएको छ । त्यो हिसावले गर्दा एक–दुई जना विदा बसे पनि महिनाको सरदर ६० वटा केश टुंगिनसक्छ । अर्को कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि नयाँ कानुनअनुसार काम गर्न कठिन रहेको कुरा अवगत गराएका छौं । उहाँहरुले सक्दो धेरै गर्न सुझाव दिनुभएको छ । हामीले चाहिँ २० जना अरु अनुसन्धान अधिकृत थपिदिन पनि आग्रह गरेका छौं । त्यो भयो भने धेरै केशहरु टुंग्याउन सकिन्छ । 
 
उनका अनुसार अधिकांश बैंकिङ कसूरसँग जोडिएका सम्पत्ति शुद्धीकरणसम्वन्धी मुद्दा छन् भने त्यसपछि म्यानपावर, घरजग्गा, उद्योगी, व्यापारीहरुको मुद्दाहरु रहेका छन् । भट्टराईले आफूहरुले कार्ययोजना बनाएर काम गरेको बताउँदै हरेक हप्ता अनुसन्धान अधिकृतबाट हरेक हप्ता प्रगति प्रतिवेदन माग गर्ने गरेको बताए । 

उनले भने, ‘आरोप लाग्दैमा कोही दोषी भइहाल्ने होइन् । कसैले बदनियतपूर्ण ढंगले पनि उजुरी दिएको हुनसक्छ । उजुरी परेपछि अनुसन्धान गर्दा गलत ढंगले नै कमाई गरेर लुकाएको देखियो भने सोधपुछ गर्ने र मुद्दा दर्ता गर्ने कुरा हुन्छ । सोधपुछ गर्दा पनि तर्साउने र आतंकित बनाएर होइन्, स–सम्मान गर्ने हो । कतिपय मानिसले वैधानिक हिसाबले कमाई गरे पनि त्यसको विवरण राख्न नसकेको हुनसक्छ । हाम्रोमा त्यो खालको पद्दती पनि छैन् । सबै कुरालाई बुझेर अनुसन्धान र कारवाही गर्छौं ।’ 

भट्टराईले यदि सही काम गरेर नै सम्पत्ति आर्जन गरेको हो भने उजुरी परे पनि यो ‘क्लिन’ हुने मौका पनि हो भने । 

Advertisement

Advertisement