प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित गरियोः खतिवडा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको तर्क गरेका छन् । 

मङ्गलवार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिववाले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको टिप्पणी गरे । 

Advertisement

खतिवडाले तीन करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरुले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताए । आगामी दिनमा बजेट ल्याउने र पारित गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने जरुरी रहेको उनले बताए । 

खतिवडाले भने, ‘बजेट अर्थमन्त्रीले पेश गर्ने अनि १०–१५ दिन छलफल गर्ने । एकले अर्कोलाई आरोप लगाउने । तर कमा, फुलस्टप केही चेन्ज नहुने प्रवृत्ति भयो भने यसले संसदीय व्यवस्था दह्रो हुँदैन । अब यसलाई परिवर्तन गर्नुपर्ने जरुरी देखिएको छ । अब परिवर्तन नगर्ने हो भने सांसदहरु संसदभित्र आएर बोल्ने, कराउने, हिड्ने । मन्त्रीहरुले आफ्ना क्षेत्रमा रकम राख्ने । आफ्नामा मात्रै होइन, श्रीमतीकोमा पनि राख्ने । जेठी सासुकोमा पनि राख्ने । ज्वाइँकोमा पनि राख्ने । आफूलाई मन्त्री बनाउने नेताकोमा पनि राख्ने । अन्त राख्दै नराख्ने । अनि समानुपातिक पद्धतीको विकास पनि हुँदैन ।’ 

उनले थपे, ‘दुर्गममा विकास नहुने पद्धतीको विकास भयो । प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ । ३ करोड भन्दा तलका योजना मुनिका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो । तर मन्त्रीहरु अहिले पनि मानेका छैनन् । प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदैछ । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो ।’

खतिवडाले आगामी दिनमा बजेट संशोधनसहित पारित गर्नुपर्ने बताए । 

Advertisement

Advertisement