प्रधानसेनापति हुन लागेका रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्रीले जवाफ दिनुपर्छः साह

Advertisement

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् । 

शुक्रवार संसद बैठकको आकस्मिक समयमा उनले नेपाली सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ माग गरे । 

Advertisement

साहले नेपाली सेनाको छवि निष्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भएपनि रथिको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्याएको बताए । उनले रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने बताए । 

साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्याउने जसले जुन ढंगले हर्कत गरेका छन्, त्यो सकारात्मक होइन । यसरी विवादित कुराहरु बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन ।’ 

उनले थपे, ‘समाचारको कुरा सुन्ने हो भने प्रधानसेनापतिले अशोकराज सिग्देलको बारेमा संसदीय समितिको सुनुवाईमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? नेपाली सेनाको इमेजमाथि जसरी प्रश्न उठिरहेको छ, नेपालीहरुको इमेजको प्रश्न हो । सेनाहरुको मनोबलको प्रश्न हो । यसरी विषयहरु आइदिने सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’

Advertisement

Advertisement