काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को आज (शनिबार) फाइनल खेल हुँदैछ । नेपाली समयअनुसार ८ः१५ मा हुने फाइनल खेल इण्डिया र दक्षिण अफ्रिकाबीच हुँदैछ ।
बार्बाडोसमा हुने खेल जित्न सके इण्डिया दोस्रो पटक र दक्षिण अफ्रिका पहिलो पटक विश्वकप च्याम्पियन बन्नेछ । सशक्त टोली इण्डियालाई हराएर इतिहास बनाउने दक्षिण अफ्रिकाको लागि महत्वपूर्ण अवसर आएको छ ।
इण्डियाका लागि म्याप्टेन रोहित शर्मा पिल्लरको रुपमा रहेका छन्, जो दक्षिण अफ्रिकाका लागि चुनौति हुन् । यता दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउण्डर मार्को यानसन भारतलाई चुनौति बन्नसक्छन् । उनकै कारण सेमिफाइनलमा अफगानिस्तान ५६ रनमा अल आउट भएको थियो । यानसनले उक्त खेलमा तीन विकेट लिएका थिए ।
आजको खेलमा भारतका तीव्र गतिका बलर जस्प्रित बुमराह, दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर हेनरिक क्लासेनको भूमिका पनि अर्थपूर्ण हुनसक्छ । यस विश्वकप खेलमा नेपाल कमजोर ब्याटिङका कारण समूह चरणबाटै बाहिरिएको थियो ।