अवैध सुन ल्याउन ७ वटा डमी कम्पनी स्थापना, ५ वटाबाट २८ सय केजी भन्दा बढी सुन तस्करी

ब्रेक सु, स्मार्टवाच र पम्पमा लुकाएर ३२ सय केजी सुन तस्करी, पेवेल र सजिलोपेबाट भुक्तानी

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ब्रेक सु, स्मार्ट वाच, पानी तान्ने लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तीन हजार दुई सय केजी सुन अवैध रुपमा आयात भएको निष्कर्ष निकालेको छ । 

सीआईबीले सोमबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको छ । सम्भवः नेपालमा एउटै समूहले गरेको सबै भन्दा ठूलो आर्थिक अपराध यही हो । 

Advertisement

गत साउन २ गते राजश्व अनुसन्धान बिभागले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल परिसरबाट स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको ६० केजी भन्दा बढी सुन बरामद गरेको थियो । त्यसपछि यस घटनालाई केही समय बिभाग र पछि सीआईबीले अनुसन्धान गरेको थियो । त्यो क्रममा त्यसै घटनासँग जोडिएका गिरोहले तीन हजार १९४.६६८ केजी सुन तस्कर गरेको निष्कर्ष सीआईबीले निकालेको छ । त्यसको बजार मूमुल्य ३० अर्ब ८२ करोड २२ लाख रुपियाँ हुन आउने सीआईबीले बताएको छ । सीआईबीले यसमा दुई खर्ब ६६ अर्ब ६७ करोड रुपियाँ बिगो दावी गरेर मुद्दा चलाउने बताएको छ  । 

सीआईबीका अनुसार ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी सुन नेपाल भित्र्याइएको छ । पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत माध्यमबाट दुई हजार ८३१.८९ केजी सुन नेपाल भित्र्याइएको छ । तर, कुन कुन समयमा यतिका सुन भित्रियो भन्ने बिषयमा सीआईबीले खुलाएको छैन । भुक्तानीको आधारमा भने २०७८ यता सो बराबरको सुन तस्कर भएको देखिन्छ । 

undefined

गत साउन २ गते ६० केजी सुन बरामद भएपछि अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा थप अनसुन्धान अघि बढाइएको थियो । सोही थप अनुसन्धानले यस्तो खुलासा गरेको हो । 

पहिला राजश्व अनुसन्धान बिभागको अध्ययनले अवैध सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको पत्ता लगाएर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपियाँको माग दावी गरी मुद्दा दायर गरेको थियो । त्यस सम्बन्धी अभियोग पत्र भदौ ३१ गते दायर भएको थियो । त्यसमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षको लागि थुनामा छन् । 

त्यसपछि यसको थप अध्ययन अनुसन्धान अघि बढाइएको थियो । त्यसमा सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू स्थापना गरेको पत्ता लागेको छ । त्यस मध्ये ५ वटा डमी कम्पनीबाट अवैध रुपमा सुन आयात गरिएको प्रहरीको भनाइ छ ।

चीनका दावजीन वाङको समेत योजनामा भुजेल इलोक्ट्रोनिक सप्लार्यसले १३०३.९६५ केजी, ह्वाडा इलोक्ट्रोनिक सपलार्यसले ६३२.७९५ केजी, छुन्गक इलोक्ट्रोनिक सप्लार्यसले ७१.८३ केजी, दोलखा इलोक्ट्रोनिक सप्लार्यसले १७०.८ केजी र रेडी ट्रेड प्रालीले ७.५ केजी सुन अवैध रुपमा आयात गरको प्रहरीको भनाइ छ । 

यो बाहेक ब्रेक सुमा लुकाएर भने ३६२.७७८ केजी सुन आयात गरिएको छ । यसको भुक्तानीका लागि पेवेल नेपाल प्रालि र सजिलोपे पेमेन्ट सर्भिसेज प्रालि संलग्न देखिएका छ्न । २०८० बैशाख १२ गते देखि २०८१ जेठ २१ गतेसम्म पेवेलको वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रूपियाँ बराबरको इ–मनी क्रेडिट भएको देखिएको छ । जसमध्ये सबैभन्दा बढी ६१ अर्र्ब ५० करोड भौचर डिपोजिटबाट भएको प्रहरीको भनाइ छ । 

२०७८ जेठ २ गते देखि २०८१ जेठ २१ गतेसम्म सजिलो पे बालेटमा  ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रूपियाँ बराबरको इ–मनी लोड भएको देखिएको छ । त्यसमा सबैभन्दा बढी १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रूपियाँ बराबरको भौचर अपलोड गरी क्यास इन गरिएको प्रहरीको भनाइ छ । यी दुई वालेटलाई राष्ट्र बैंकले यसअघि नै कारोबार रोक्का गरेको छ । 

अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल नेपाल प्रालि र सजिलोपे पेमेन्ट सर्भिसेजको खातामा निक्षेप, रकमान्तर, स्थानान्तरण, भुक्तानी र फर्स्यौट भएको देखिएको छ । यस्तो रकम १ अर्ब भन्दा बढी रहेको छ । यस्तै, पेवेल नेपाल प्रालिमा डिपोजिट गरेको बैंक भौचर नै भुक्तानीको उपकरणको रूपमा प्रयोग गरेको पाईएको छ । 

सेटलमेन्ट खातामा रहेको भन्दा अधिक इ–मनी जारी गरेको प्रहरीको भनाइ छ । बिना रकम मौज्दात इ–मनी जारी गरेको पनि प्रहरीले बताएको छ । 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा दैनिक र मासिक रूपमा पेस गर्नुपर्ने विवरणमा गलत तथ्याङ्क पेस तथा विवरण लुकाएको पनि प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

चालु आवको ११ महिनामा २६ सय ५२ केजी सुन वैध रुपमा आएको भएको छ । गत आवभर भने वैध रुपमा २९ सय ६६ केजी सुन आयात भएको छ । यसरी बार्षिक रुपमा वैध रुपमै नेपाल भित्रिने सुन भन्दा धेरै सुन अवैध रुपमा नेपाल भित्रिएको देखिन्छ ।
 

Advertisement