सौर्य एयरलायन्स दुर्घटनाको निष्कर्ष, ‘लोड व्यालेन्स’मा हेलचक्र्याइँ नै मुख्य कारण

Advertisement

काठमाडौं । गत साउन ९ गते राजधानीमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको मुख्य कारण तौल सन्तुलन (लोड ब्यालेन्स) नै रहेको निष्कर्ष निकालिएको छ । दुर्घटनालगत्तै गठित दुर्घटना जाँचबुझ आयोगले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । 

पैंतालिस दिन लगाएर जहाज दुर्घटनाको अध्ययन गरेको आयोगले नियमित मर्मतका लागि काठमाडौंदेखि पोखरा जान लागेको जहाजमा लोड ब्यालेन्स नमिलेका कारण दुर्घटनामा परेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

Advertisement

तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा छ । मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलेका कारण जहाजले टेकअफ गर्ना साथ सामान सरेर सन्तुलन बिग्रिएको हो । 
 
जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको बताउँदै जाँचबुझ आयोगले ब्यागेजसहित जहाजको कूल तौल १८ हजार १३२ किलोमा जहाजले टेकअफ गरेको जनाएको छ । जहाजमा थप २ हजार किलो इन्धन थियो ।

‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले मुख्य पाँचवटा विषयलाई अनुसन्धानको आधार बनाएको छ । जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ । उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ । 

सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज नियमित सी–चेकका लागि गत साउन ९ गते काठमाडौंदेखि पोखरा जान लाग्दैगर्दा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त हुनपुगेको थियो । उक्त दुर्घटनामा १८ जनाको घटनास्थलमा नै ज्यान गएको थियो भने पाइलटको मात्र जिवित उद्धार गरिएको थियो ।

Advertisement