धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध  सर्वोच्चमा रिट दर्ता

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया रद्द गर्ने छनौट समितिको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

छनौट प्रक्रियामा पाँच जनाको सर्टलिष्टमा परेका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले रिट निवदेन दिएका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । 

Advertisement

निवेदनमा उत्प्रेषणको आदेशमार्फत प्रक्रिया रद्द गर्ने छनौट समितिको निर्णय खारेज गर्न माग गरिएको छ । रिटमा श्रेष्ठले धितोपत्र बोर्ड ऐनअनुसार नै प्रक्रिया रद्द नगरी अगाडि बढाउनुपर्ने जिकिर गरेका छन् । 

अध्यक्षका दावेदारहरुमध्ये सर्टलिष्टमा परेका पाँच जनामा तीन जना अन्तरवार्तामा सहभागी नभएपछि कानुनी जटिलता उठाउँदै छनौट समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । बोर्डका अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सरकारले छनौट समिति बनाएको थियो । 

समितिले सर्टलिष्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउँदा तीन जना बदनियतपूर्ण तरिकाले अनुपस्थित भएका थिए भने रिट निवेदकसमेत रहेका सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै सहभागी भएका थिए । दोहोर्याएर अन्तरवार्तामा सहभागी हुन ती तीन जनलाई अवसर दिँदा पनि अनुपस्थित भएपछि के गर्ने भनेर छनौट समितिले महान्यायाधीवक्ताको कार्यालयलाई राय माग गरेको थियो । कार्यालयले प्रक्रिया रद्द गर्न ठिक हुने राय दिएको आधारमा छनौट समितिले प्रक्रिया रद्द गरेको थियो । अध्यक्ष सिफारिस गर्दा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको तर अन्तरवार्तामा दुई जना मात्रै सहभागी भएको भन्दै सरकारी पक्षले प्रक्रिया रद्द गरेको हो । 

महिनौंदेखि बोर्ड नेतृत्वविहीन हुँदा शेयर निष्काशनसहित थुप्रै महत्वपूर्ण कामकारवाही अलपत्र परेको छ ।   

Advertisement

Advertisement