सेबोन अध्यक्षको अन्तर्वार्तामा फेरि तीन जना अनुपस्थित, श्रेष्ठद्धयलाई सिफारिसको बाटो खुल्यो

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि भएको यसअघिको अन्तरवार्तामा अनुपस्थित भएकाहरुलाई पुनः मौका दिन आज बुधबार बोलाइएको अन्तरवार्तामा पुनः तीन उम्मेदरवार अनुपस्थित भएका छन् । 

आज पुनः व्यवसायिक कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि गत आइतबार नियोजितरुपमा अनुपस्थित भएका तीन जना उम्मेदवारहरु नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीलाई उपस्थित हुन अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले सूचना जारी गरेको थियो । 

Advertisement

बिहान ९ बजे उनीहरुलाई बोलाइए पनि उनीहरु पुनः अनुपस्थित रहेका हुन् । गत आइतबारको अन्तरवार्तामा मुक्ति श्रेष्ठ र सन्तोषनारायाण श्रेष्ठ मात्रै उपस्थित रहेका थिए । आज पनि अधिकारी, चापागाइँ र कार्की अनुपस्थित भएपछि श्रेष्ठद्धयलाई अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न छनौट समितिलाई बाटो खुलेको छ । 

सरकारले बोर्डको अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । अध्यक्षका लागि १९ जना प्रतिस्पर्धी रहेकोमा समितिले पाँच जनालाई सर्टलिष्ट (संक्षित सुची) गरेको थियो । सर्टलिष्ट भएपछि पनि राजनीति खिचातानी र स्वार्थ समूहको चलखेलका कारण उनीहरुको लामो समयदेखि अन्तरवार्ता हुन सकेको थिए । 

बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुँदा शेयर निष्कासनदेखि अन्य महत्वपूर्ण नीति निर्णय हुन सकेको छैन् । सर्टलिस्टमा परेकामध्ये अधिकारी बोर्डकै कार्यकारी निर्देशक हुन भने कार्की नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका सीईओ हुन । चापागाइँ तत्कालिन बीमा समितिका अध्यक्ष हुन् । 

धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ अनुसार अध्यक्ष नियुक्ति गर्दा तीन जना सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर पटक पटक सुचना जारी गर्दा पनि अनुपस्थित भएमा उपस्थित भएका बाँकीलाई नै छनौट समितिले नियुक्तिका लागि सिफारिस गर्नसक्ने कानुनको व्याख्याताहरु बताउँछन् । 

Advertisement

Advertisement