लामो समयको अलमलपछि धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द गर्ने सरकारको निर्णय

Advertisement

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । अध्यक्ष चयनका लागि बनेको सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै प्रक्रिया रद्द भएको जानकारी गराएको हो । 

सूचनामा समितिले २०८० फागुन १६ मा सूचना प्रकाशित गरेर हालसम्म सम्पन्न गरेका छनौट प्रक्रिया रद्द गरेको उल्लेख गरेको छ । बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएकोमा समितिले पाँच जनालाई ‘सर्टलिष्ट’ गरेको थियो । प्रक्रियाका सम्वन्धमा विभिन्न विवाद र उजुरी भएपछि सरकारले ‘सर्टलिष्ट’मा परेका पाँच जनाको अन्तरवार्ता प्रक्रिया रोकेको थियो । 

Advertisement

बोर्डलाई लामो समय नेतृत्वविहीन बनाउन नहुने आवाज उठेपछि अन्तरवार्ता प्रक्रिया अघि बढाइए पनि राजनीतिक दाउपेच र स्वार्थ समूहको प्रतिस्पर्धाका कारण पाँच जनामध्ये तीन जना नियोजितरुपमा अन्तरवार्ता प्रक्रियामा नै अनुपस्थित भएका थिए । अध्यक्ष नियुक्तिका लागि कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने धितोपत्रसम्वन्धी कानुनमा रहेको व्यवस्था बुझेर नै उनीहरु अनुपस्थित भएको देखिन्छ । 

‘सर्टलिष्ट’मा परेकामध्ये तीन जना अनुपस्थित भएर दुई जना मात्रै उपस्थित भएपछि सिफारिस गर्ने वा नगर्ने सम्वन्धमा राय लिन छनोट समितिले महान्यायाधीवक्ताको कार्यालयसँग राय माग गरेको थियो । कार्यालयले पनि प्रक्रिया रद्द गर्न उपयुक्त हुने सुझाव दिएको बुझिएको छ । अर्थमन्त्री बर्षमान पुन आफू र आफ्नो पार्टीनिकटका उम्मेदवारहरुको कमजोर कार्यक्षमताका कारण उनीहरु सिफारिसमा पर्ने संभावना कम देखेपछि यो प्रक्रिया रद्द गर्ने मनस्थितिमा थिए । यद्यपि सत्ता घटक नेकपा एमाले र विपक्षी कांग्रेस भने प्रक्रिया रद्द गर्न नहुने पक्षमा हुँदा सर्टलिष्टमा परेकाहरुको अन्तरवार्ता गर्न उनी तयार भएका थिए । 

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति बनाएको थियो । प्रक्रिया रद्द भएसँगै बोर्ड अझै लामो समयसम्म नेतृत्वबिहीन हुने भएको छ । रमेश हमालको कार्यकाल सक्किएसँगै बोर्ड नेतृत्वबिहीन छ । नेतृत्वबिहीन हुँदा शेयर निष्काशनलगायतका महत्वपूर्ण कामकारवाही अलपत्र पर्दै आएको छ । 

undefined

Advertisement

Advertisement