धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्न उचित हुने महान्यायाधिवक्ताको राय

Advertisement

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्दा उचित हुने राय छनोट समितिलाई पठाएको छ । 

छनोट समितिले बुधबार दिउसो बोर्डको अध्यक्ष छनोट प्रक्रिया के गर्ने भनेर राय मागेको थियो । त्यसमा महान्यायाधिवक्ताको कार्यालयले छनोट प्रक्रिया रद्द गर्दा उचित हुने राय समितिलाई दिएको स्रोतको दावी छ । 

Advertisement

बोर्डको अध्यक्षको प्रत्यासी रहेका र पाँच जनाको सर्टलिष्टमा परेकामध्ये तीन जना बदनियतपूर्ण तरिकाले दोस्रो पटकको अन्तरवार्तामा समेत सहभागी नभएपछि यस्तो राय मागिएको हो । पाँच जनामध्ये दुई जनाले मात्रै अन्तरवार्ता दिएको र बाँकी तीन जनाका लागि दोस्रो पटकसमेत मौका दिँदा अनुपस्थित भएकाले दुई जनालाई मात्रै नियुक्तिका लागि छनोट समितिले सिफारिस गर्नसक्ने धेरै कानुन व्यवसायीको राय छ भने कतिपयले तीन जनाभन्दा कम सिफारिस गर्न धितोपत्रसम्वन्धी कानुनमा व्यवस्था नै नरहेकाले यो प्रक्रिया नै रद्द गर्नुपर्ने तर्क परेका छन् । 

तर यता बोर्ड महिनौदेखि नेतृत्वबिहीन हुँदा शेयर निष्काशनदेखि अन्य महत्वपूर्ण निर्णयहरु अलपत्र रहेको छ । केही स्वार्थ समूह यो प्रक्रियालाई लम्ब्याउने वा रद्द गर्ने प्रयासमा रहेका छन् । 

महान्यायाधीवक्ताकाृ कार्यालयको राय आएसँगै राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरवारमा छनोट समितिको बैठक बसेको छ । सम्भवतः यो बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्नसक्ने स्रोतको तर्क छ । तर प्रक्रिया रद्द गर्न नहुने पक्षले भने अन्तरवार्तामा सहभागी दुई जनालाई नै सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने बताउँदै आएका छन् । 

छनोट समितिमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक छन् । बोर्डका अध्यक्षका लागि भएको अन्तरवार्तामा अनुपस्थित हुने तीन जना उम्मेदवारहरुमा  नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्की हुन् । अधिकारी बोर्डकै कार्यकारी निर्देशक हुन भने चापागाइँ तत्कालिन बीमा समितिका अध्यक्ष हुन् । त्यस्तै, कार्की नेपाल स्टक एक्सचेन्ज लि.(नेप्से)का सीईओ हुन् । दुई उम्मेदवार मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ भने पहिलो पटकको अन्तरवार्ता प्रक्रियामा सहभागी भएका थिए । 

छनोट समितिले अध्यक्ष नियुक्तिका लागि कम्तीमा पनि तीन जना उम्मेदवारको नाम अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने धितोपत्रसम्वन्धी कानुनी व्यवस्थामा रहे पनि पटक पटक आव्हान गर्दा अन्तरवार्तामा उम्मेदवारहरु अनुपस्थित भएमा के गर्ने ? भन्ने कुरा स्पष्टरुपमा खुलाएको छैन । अन्य पदपूर्तिमा भने तीन जना नै सिफारिस गर्नुपर्ने भन्ने व्यवस्था देखिन्न ।

Advertisement

Advertisement