कृषि बीमा अनुदानको एक अर्ब रुपियाँ बक्यौता प्राप्तः प्राधिकरण

Advertisement

काठमाडौं ।  कृषि तथा पशुपंक्षी बीमाको अनुदानको बक्यौता मध्ये सरकारले तत्काललाई एक अर्ब रुपियाँ बाली तथा पशुधन बीमा कोषमा पठाएको छ । 

कृषि तथा पशुपंक्षी मन्त्रालयले गत जेठ १७ गते निर्जीवन बीमा कम्पनीहरुलाई तत्काल ९७ करोड रुपियाँ दिने प्रतिवद्धता गरेको थियो । त्यसको एक महिनामा सरकारले तीन करोड रुपियाँ थप गरेर एक अर्ब रुपियाँ रकम कोष पठाएको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । 

Advertisement

उक्त रकम निर्जीवन बीमा कम्पनीहरुलाई वितरण गर्ने बिषयमा निर्णय गर्न आज साँझ ५ बजे कोष व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकले निर्णय गरेपछि उक्त रकम वितरण गरिने प्राधिकरणका एक उच्च अधिकारीले बताए । 

कोष व्यवस्थापन समितिको अध्यक्ष कृषि सचिव हुने व्यवस्था छ । अहिले कृषि सचिव डा. दीपककुमार खराल छन् । उनको अध्यक्षतामा आज बैठक बसेर यसबारे निर्णय गरिनेछ । उक्त समितिमा अर्थ मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सह सचिवहरु, कृषि र पशु सेवा बिभागका महानिर्देशक, बीमा कम्पनीको प्रतिनिधी, पशु विज्ञ सदस्य हुनेछन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक वा तोकिएको व्यक्ति सदस्य सचिव हुनेछन् । उनीहरु सहितको बैठक बसेर उक्त रकम बितरण गर्ने तयारी छ । 

कृषि तथा पशुपंक्षी बीमा गर्दा लाग्ने शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यसको प्रत्यक्ष फाइदा किसानलाई हुन्छ । सोहीअनुसार कम्पनीहरुले किसानसँग २० प्रतिशत शुल्क लिएर बीमा गर्ने गर्छन् । बाँकी ८० प्रतिशत शुल्क भने सरकारले अनुदानबापत दिनुपर्छ । तर, कम्पनीहरुले गत आवदेखिकै अनुदानवापतको रकम पाउन सकेका छैनन् ।

हाल यस अन्तरगत दुई अर्ब १७ करोड रुपियाँ भन्दा बढी बक्यौता छ । त्यो रकम नपाएपछि कम्पनीहरुले गत चैत १ गतेदेखि जेठ १७ गतेसम्म कृषि बीमाको कारोबार नै बन्द गरेका थिए । बीचमा सरकारले ४६ करोड रुपियाँ निकासा दिएको पनि गरेको थियो । तर, कम्पनीहरुले कारोबार सुरु गरेका थिएनन् । जेठ १७ गते सरकारले बक्यौता तिर्ने प्रतिवद्धता गरेपछि कम्पनीहरुले जेठ १८ गतेदेखि यसको कारोबार सुरु गरेका थिए । 

अहिले आएर झण्डै एक अर्ब रुपियाँ बक्यौता सरकारबाट प्राप्त हुन लागेको हो । बाँकी रहेने बक्यौता कहिले आउछ भन्ने बिषयमा भने अन्योल नै देखिएको छ । 

अब आर्थिक बर्ष सकिन दुई हप्ता मात्रै बाँकी छ । यस अवधीमा बाँकी रकम भुक्तानी हुन्छ भन्नेमा विश्वास नरहेको बीमा कम्पनीहरु बताउँछन् । गत जेठ १७ गतेको छलफलमा मन्त्रालयले तत्काल ९७ करोड र चालु आवमा बाँकी सबै बक्यौता चुक्ता गर्ने प्रतिवद्धता दिएको थियो । तर, त्यो सम्भावना न्यून देखिएको कम्पनीहरु बताउँछन् । 

यसअघि पनि कम्पनीहरुले २०८० जेठ ७ गतेदेखि असार ६ गतेसम्म कृषि बीमाको कारोबार रोकेका थिए । त्यसपछि सरकारले असारभित्रै पैसा उपलब्ध गराउने प्रतिवद्धता गरेपछि कम्पनीहरुले कारोबार सुरु गरेका थिए । तर, असारभित्र बीमा कम्पनीहरुले पूरा पैसा पाउन सकेका थिएनन् । त्यसपछि कम्पनीहरुले गत चैतदेखि फेरि कारोबार बन्द गरेका थिए । सरकारको अनुरोधमा जेठ १८ गतेदेखि कृषि बीमाको कारोबार भइरहेको छ ।

Advertisement

Advertisement