गतवर्ष ४० अर्बको शंकास्पद कारोबार, बैंक तथा वित्तीय संस्थाहरु कुनमा कति ?

Advertisement

काठमाडौं ।  नेपालमा सन् २०२३ मा ४० अर्ब रुपियाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । 

त्यसमा सबै भन्दा बढी शंकास्पद कारोबार वाणिज्य बैंकहरुमा भएको देखिएको छ । वाणिज्य बैंकमा मात्रै ३८ अर्ब ७२ करोड ८७ लाख रुपियाँ बराबरको शंकास्पद कारोबार भएको छ । दोस्रो स्थानमा भने विकास बैंक छ । विकास बैंकबाट २०२३ मा ४७ करोड २२ लाख रुपियाँ बराबरको यस्तो कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

शंकास्पद कारोबार गर्नेमा तेस्रो नम्बरमा शेयर ब्रोकर कम्पनीहरु रहेका छन् । २०२३ मा त्यहाँबाट ४२ करोड ९६ लाख रुपियाँ बराबरको शंकास्पद कारोबार भएको छ । 

यसैगरी वित्त कम्पनीबाट २६ करोड ५१ लाख रुपियाँ, रेमिट्यान्स कम्पनीबाट ११ करोड १३ लाख रुपियाँ, जीवन बीमा कम्पनीबाट तीन करोड ६१ लाख रुपियाँ, पीएसपी/पीएसओबाट एक करोड १५ लाख रुपियाँ,  सहकारीबाट ४८ लाख रुपियाँ, मर्चेन्ट बैंकरबाट ४१ लाख रुपियाँ र लघुवित्तबाट २२ लाख रुपियाँ बराबरको शंकास्पद कारोबार भएको छ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको गो एमएल प्रणालीले यस्तो देखाएको हो । 

२०२३ मा  शंकास्पद कारोबार  ५७.२० प्रतिशत बढेको पनि देखिएको छ । संख्याको आधारमा यस्तो कारोबार बढेको हो । २०२२ मा नेपालमा तीन हजार ९७९ वटा शंकास्पद कारोबार भएको थियो । २०२३ मा ६ हजार २५५ वटा यस्तो कारोबार भएको देखिएको छ । 

वाणिज्य बैंकमा मात्रै पाँच हजार २८२ वटा शंकास्पद कारोबार भएको छ । विकास बैंकमा ३३०, भुक्तानी सेवा प्रदायक (वालेट) मा २११, रेमिट्यान्स कम्पनीमा  १५६, वित्त कम्पनीमा ९९, शेयर ब्रोकरमा ६२, भुक्तानी प्रणाली सञ्चालकमा ४९ र जीवन बीमा कम्पनीमा २६ वटा शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी लघुवित्तमा २४, राष्ट्र बैंकमा ११, निर्जीवन बीमा कम्पनीमा २, सहकारीमा २ र मर्चन्ट बैंकरमा एउटा शंकास्पद कारोबार भएको छ । प्राप्तीको आधारमा समेत यस्तो तथ्यांक तयार गरिएको हो । 

कूल कारोबारमा सम्पत्ति सुद्धीकरणमा मात्रै तीन हजार १९९ वटा कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी कर छलीमा एक हजार ८६८, बैंकिङमा एक हजार ४० र ठगीमा ५६५ वटा यस्ता कारोबार भएको प्रतिवदेनमा उल्लेख छ । 


 

Advertisement

Advertisement