भारी बर्षासँगै देशका विभिन्न स्थानमा बाढी पहिरो, सिद्धार्थ र मध्यपहाडीसहितका सडक अवरुद्ध

Advertisement

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरोका घटनाहरु भएका छन् । विभिन्न स्थानमा साना ठूला सडकहरु पहिरोका कारण अवरुद्ध बनेका छन् । 

शुक्रबारदेखि सुरु भएको बर्षाले गर्दा काठमाडौं उपत्यकाका ठूला नदी र खोलाहरु बढेको छ कतिपय ठाउँ डुवानमा परेको छ ।

Advertisement

काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई शतर्कत रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । 

साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । देशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् । ​

बर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिए ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न ।

सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको जनाइएको छ । 

साथै, कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ । यता अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो बर्ष बाढी पहिरोमा परी ४६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

Advertisement

Advertisement