कृषि कर्जामा दिएको अनुदान टाठाबाठाले खाएः क्षेत्री

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताएका छन् । 

शनिबार साना किसान लघुवित्त वित्तीय संस्थाको स्थापना दिवसको कार्यक्रममा उनले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टाठा बाठाहरुले पहुँचको आधारमा दुरुपयोग गरेको बताए । विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको क्षेत्रीको भनाई छ । 

Advertisement

साथै, उनले नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरुले लगानी गर्न नचाहेको बताए । 

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले सरल कर्जा प्रवाहमार्फत् युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । 

साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत् कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत् आन्तरिक उत्पादन बढाउन ठूलो योगदान गरेको उनको भनाई छ ।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशत भन्दा बढी महिला रहेको र देशभरका ५५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको कोइरालाले जानकारी दिए । 

उनले हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसंख्याका सेवा पुर्र्याएको बताए छ । कोइरालाले कृषि प्रविधि सिक्नका लागि युवालाई इजरायलमा पठाएको र उनीहरु स्वदेश फर्किएर कृषि कर्ममा जमेको, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट कृषि तथा भेटनरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको, किसानहरुलाई भारतलगायत देशमा अवलोकन भ्रमण गराएकोलगायत कामबाट साना किसान विकास लघुवित्तले किसानलाई सहयोग गरिरहेको बताए । 

उनले एसियाली विकास बैंकबाट कर्जा लिएर ग्रामिण उद्यम कर्जा (आरईएफ) सञ्चालन गरेको पनि बताए । साना किसान, विपन्न तथा पछाडि परेका व्यक्ति एवम् समुदाय, महिला, सीमान्तकृत जस्ता वर्गका लागि सरल र सहज कर्जा उपलब्ध गराइरहेका कारण साना किसान लघुवित्तबाट सञ्चालित कामको नतिजा राम्रो देखिएको कोइरालाले बताए । 

स्थापना दिवसका अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले देशभरबाट दुई वटा संस्थालाई उत्कृष्ट संस्था पुरस्कार प्रदान गरेको छ । यसरी पुरस्कृत हुने संस्थाहरुमा सुर्खेतको गुमीमा रहेको परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था र धनुषाको रघुनाथपुरमा रहेको रघुनाथपुर साना किसान कृषि सहकारी संस्था रहेका छन् । यी दुई संस्थाले आफ्नो लगानीमा रहेको सम्पूर्ण कर्जाको असुली दर सत प्रतिशत पुरा गरेका छन् । युवा, महिला, दलित, जनजाती, पिछडीएको वर्गा लगायतलाई उत्पादन र उद्यमसंग जोडेको बताइएको छ । 

Advertisement

Advertisement