मेलम्चीको भ्रष्टाचारमा संलग्न पदाधिकारीदेखि ठेकेदार कम्पनीसम्मलाई सजाय

Advertisement

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र ठाकुरलाई आठ वर्ष कैद सजाय तोकेको छ ।

अदालतले भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको थियो । आज सजाय सुनाउँदै विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैदसहित १० करोड १० लाख जरिवाना गरेको हो । 

Advertisement

विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि गजेन्द्र ठाकुरलाई सरह नै कैद र जरिवाना तोकेको छ । खानेपानी मन्त्रालयका तत्कालिन सचिव भीम उपाध्यायसहित केहीलाई भने यसअघि नै सफाई दिइएको छ । 

विशेष अदालतले परामर्शदाता शिवकुमार शर्मालाई आठ वर्ष कैद र दुई करोड ९५ लाख रुपियाँ विगो सजाय सुनाएको छ । तर उनी ६५ वर्ष नाघेको देखिएको भन्दै विशेष अदालतले दुई वर्ष कैद छुट दिई छ वर्ष मात्रै कैद बस्नुपर्ने फैसला गरेको छ । 

अदालतले ठेकेदार कम्पनी इप्टिसालाई छ करोड २१ लाख विगो फैसला गरेको छ भने अर्को कम्पनी बीईटीएसलाई त्यति नै विगो सजाय सुनाएको छ । ठेक्का पाएको अर्को कम्पनी सीएमसीबाट २६ करोड ११ लाख रुपियाँ विगो असुल्ने फैसला गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिवसहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रुपियाँ रोज्यकोषमा नोक्सानी भएको निचोडसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

Advertisement

Advertisement