असारे खर्चको प्रभाव– ६४ खर्ब नजिक पुग्यो निक्षेप, असारमा मात्रै थपियो सवा खर्ब

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप ६४ खर्ब रुपियाँ नजिक पुगेको छ । शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६३ खर्ब ८७ अर्ब ७० करोड रुपियाँ पुगेको हो । 

नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार त्यसमा बाणिज्य बैंकहरुमा मात्रै ५६ खर्ब ६३ अर्ब ३० करोड रुपियाँ निक्षेप रहेको छ । असारमा मात्रै बाणिज्य बैंकहरुमा एक खर्ब ३८ अर्ब रुपियाँभन्दा बढी निक्षेप बैंकिङ प्रणालीमा थपिएको छ । 

Advertisement

गत जेठ मसान्तसम्म बैंकिङ क्षेत्रमा ६२ खर्ब ५० अर्ब रुपियाँ हारहारीमा निक्षेप थियो । त्यो बढेर झण्डै ६४ खर्ब रुपियाँ नजिक पुगेको छ । आर्थिक बर्षको अन्तिम समय भएकाले अहिले सरकारी खर्च बढेको छ । 

असार मसान्तको दबाबमा सरकारले दैनिक १४ अर्ब रुपियाँसम्म खर्च गरेको छ । त्यसरी खर्च भएको पैसा सोझै बैंकिङ प्रणालीमा आउँछ । त्यसले गर्दा निक्षेप थुप्रिएको बैंकरहरु बताउँछन् । 

असार महिना लागेयता बाणिज्य बैंकहरुमा मात्रै झण्डै एक खर्ब २५ अर्ब रुपियाँ निक्षेप थपिएको छ । जेठ मसान्तसम्म बाणिज्य बैंकहरुमा ५५ खर्ब ३८ अर्ब ३८ अर्ब रुपियाँ निक्षेप थियो । अहिले त्यो बढेर ५६ खर्ब ६३ अर्ब २० करोड रुपियाँ पुगेको छ । 
तर, कर्जाको माग भने न्यून नै रहेको छ । 

हालसम्म बैंक तथा वित्तिय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब ५१ अर्ब ६० करोड रुपियाँ कायम भएको छ । त्यसमा बाणिज्य बैंकहरुले मात्रै ४५ खर्ब ५६ अर्ब ६० करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । 

Advertisement

Advertisement