देशकै ठूलो निर्यातकर्ता र रोजगारदाता कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओ कस्तो हो ?

Advertisement

काठमाडौं । इटहरीको खनारस्थित देशकै ठूलो निर्यातमूलक तथा रोजगारदाता उत्पादनमूलक उद्योग रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको छ । 

विगत तीन दशकदेखि सञ्चालित र आकर्षक नाफा गर्दै आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर प्रतिकित्ता ८२० रुपियाँ ८० पैसा मूल्यमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । पहिलो चरणमा विदेशमा रहेकाहरुको लागि शेयर निष्कासन गर्न लागिएको हो । योपछि कम्पनीका कर्मचारी र त्यसपछि आम सर्वसाधारणका लागि शेयर निष्कासन गरिने छ । 

Advertisement

वर्षेनी अर्बौं मूल्यको धागो उत्पादन गरी देशमा आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न योगदान दिँदै आएको यो कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाएको ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् एक लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गर्न लागेको हो । न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने रिलाइन्सको आईपीओमा सर्वसाधारणले असार २७ देखि साउन  १० सम्म आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरो शेयरबाट आईपीओ भर्न सक्नेछन् । रिलायन्सले शेयर निष्कासन तथा बिक्री प्रबन्धको लागि ग्लोबल आइएमई क्यापिटल  लिमिटेडलाई नियुक्त गरेको छ । 

अधिकृत पुँजी दुई अर्ब ६० करोड रहेको रिलायन्सको जारी पुँजी एक अर्ब ९० करोड र चुक्ता पुँजी एक अर्ब ७१ करोड रहेको छ । गोल्यान समूह र एमएस समूहको लगानी रहेको यो उद्योगको सञ्चालकमा पवल गोल्याण, शशिकान्त अग्रवाल र अक्षय गोल्याण छन् । रिलायन्सको बार्षिक ४८ हजार ९६० मेट्रिकटन धागो उत्पादन क्षमता छ । 

कस्तो छ कम्पनीको क्षमता ? 

रिलायन्सले आर्थिक बर्ष २०७७–७८ देखि आफ्नो वित्तीय प्रतिवेदन मान (एनएफआरएस)अनुसार वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै आएको छ । आम्दानी, लागत खर्च, ह्रास कट्टी तथा प्रशासनिक खर्चहरु एनएफआरएसको मापदण्ड अनुसार लेखाङ्कन गरिएको जनाउँदै कम्पनीले नेपाल विद्युत प्राधिकरणको २०८१ असार ९ को पत्रअनुसार विद्युत महशुल वापतको रकम रु. ७३, ३६, ८४, ३३५ घटाएर मात्र नेटवर्थ गणना गरिएको जनाएको छ । 

करिब छ अर्बभन्दा धेरै निर्यात आय गर्दै आएको रिलायन्स स्पिनिङले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउँदै आएको छ । चार हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीले करीब एक हजार पाँच सय कर्मचारी र श्रमिकहरू सुविधासहित उद्योग परिसरमै आवास सुविधा प्रदान गर्दै आएको छ । 

उद्योगका कर्मचारी एवं कामदारका लागि बाल स्याहार केन्द्र, स्वास्थ्य जाँच र औषधि, खेलकुद जस्ता सुविधा पनि प्रदान गर्दै आएको छ । आव २०७७–७८ मा ८९ करोड ५० लाख नाफा गरी आफ्ना कर्मचारी र कामदारलाई करिव चार महिनाको बोनस दिएको यो कम्पनीले आव २०७८–७९ मा एक अर्ब चार करोड नाफा गरी कर्मचारी तथा कामदारलाई साढे पाँच महिनाको बोनस, आव २०७९–८० मा एक अर्ब एक करोड नाफा गरी कर्मचारी तथा कामदारलाई साढे चार महिनाको बोनस वितरण गरेको थियो । चालु आवको पहिलो आठ महिनामा कम्पनीको संचित मुनाफा दुई अर्ब २५ करोड रहेको छ । 

दैनिक दुई लाख ५० हजार युनिट विद्युत उपयोग गर्ने यस उद्योगबाट उत्पादित धागोमध्ये २५ देखि ३० प्रतिशत आन्तरिक खपत र बाँकी भारत र टर्की निर्यात हुने गर्दछ । 

रिलायन्सप्रति प्राधिकरणको ‘बक्रदृष्टि’ र ईपीएस

घोषित लोडसेडिङ कालमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत जडान गर्ने ठूला उद्योगहरूलाई लगाउन खोजिएको विवादास्पद प्रिमियम विद्युत महसुलबाट रिलायन्स पनि मुक्त हुन सकेको छैन । नियमित महसुल तिर्दै आएको उद्योगलाई लोडसेडिङको बेलाको प्रिमियम महसुल बाँकी रहेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिना आधार र प्रमाण हचुवाको भरमा करोडौं रुपियाँ बक्यौता देखाएपछि उद्योगका सञ्चालक पवन गोल्याणले त्यसको विरोध गर्दै आएका थिए । 

गोल्यानले अगाडि सरेर स्वदेशी उद्योगहरुलाई संरक्षण र सुविधा दिनुपर्नेमा तिर्नैनपर्ने अतिरिक्त महशुल तिराएर बन्द गराउन प्राधिकरणले खाजेको बताएपछि उनीमाथि घिसिङको सम्वन्ध चिसिँदै आएको छ । सोही कारण प्राधिकरणले आफूहरुलाई प्राधिकरणले विद्युत आपूर्तिमा अनावश्यक सास्ती दिने गरेको रिलाइन्सको भनाई छ । 

उद्योगलाई आपूर्ति भइरहेको बिद्युत अनियमितताले गर्दा ठूलो कठिनाइ उत्पन्न भइरहेको रिलाइन्सको भनाई छ । प्राधिकरणले ३३ केभी दुहवी फिडर, खनार सबस्टेसनमार्फत छुट्टै आपूर्ति गराइरहेको विद्युत बिना सूचना काट्ने, लोड कम गराउने तथा भोल्टेज कम बढी आपूर्ति हुने गरेको छ । लामो समयदेखि यो समस्या रहँदा उद्योग सञ्चालनमा समस्या उत्पन्न भइ निर्यात व्यपारमा समेत प्रत्यक्ष असर परेको र उद्योगको ईपीएसमा पनि कमी आइरहेको रिलायन्सले जानकारी दिएको छ । 

पटक पटक पावर ट्रिपिङ हुँदा मिल्समा प्रयोग भएका उच्च प्रविधिका सेन्सरयुक्त मेसिन उपकरणहरू तथा चौबिसै घण्टा सञ्चालन हुने मिल्स मेसिनका पार्टपुर्जा तथा यन्त्र उपकरण खराब हुन पुगेको भन्दै कम्पनीले पछिल्ला बर्षमा बदनियतपूर्ण ढंगले सिर्जना गरिएका यी समस्याले उद्योग सञ्चालनका साथै उत्पादन प्रक्रियामा बाधा पुगेको बताएको छ । 

हालै सञ्चालित भर्टेक्स प्लान्टमा दुई हजार चार सय स्पिन्डल (स्पिनिङ इकाई)हरू छन् । सो मेसिनमा एक पटक पावर ट्रिपिङ भए प्रोसेसिङमा रहेका सबै माल बिग्रिने र फेरि नियमित चालु गराउन करिब आधा घण्टादेखि एक घण्टा समय लाग्ने भन्दै कम्पनले यसबाट उद्योग सञ्चालनमा निकै कठिनाई भएको बताएको छ ।  

उद्योगको ईपीएस घट्नुको मुख्य कारण नै दैनिक रुपमा विद्युत आपूर्तिमा देखिएको नै प्रमुख समस्या भएको रिलायन्सको भनाइ छ । यसले गर्दा तीन सिफ्ट नै निरन्तर काम सञ्चालन हुने रिलायन्स स्पिनिङ मिल्समा कार्यरत चार हजार श्रमिक रोजगारीबाट नै बन्चित हुने अवस्था सिर्जना भएको जनाइएको छ । त्यस्तै वैदेशिक ग्राहकको अर्डर समयमा पूरा गर्न नसक्दा निर्यात कार्यमा समेत समस्या उत्पन्न भई उद्योगको ईपीएस पनि घटेको हो भन्दै रिलाइन्सले  दुहबी ग्रिडबाट पटक पटक भीसीबी ट्रिप हुने, खनार ग्रिडमा पटक पटक टाइम ब्रेकर ट्रिप हुने, दैनिकजसो सिस्टम फेल र पावर ट्रिपिङ हुने गरेको बताएको छ । 

साथै, गत बर्ष २०८० माघदेखि गएको जेठसम्म दैनिक आठदेखि १२ घण्टा अघोषित लोडसेडिङ भएको, भोक्राहा खनारको ३३ पखको ट्रान्समिसन लाइनमा पटक पटक समस्या आई मर्मतको नाममा बिद्युत कटौती गरिएको कम्पनीले जानकारी दिएको छ । 

देशको अर्थतन्त्र उकास्नमा अह्म भूमिका खेलिरहेको ठूलो निर्यातमूलक उद्योगलाई विद्युत आपूर्तिमा समस्या सिर्जना गरेर हतोत्साहित हुने अवस्था सिर्जना गरिएको रिलायन्सको अनुभूति छ । यस प्रवृत्तिले देशको सम्पूर्ण औद्योगीकरणमा नै नकारात्मक माहोल सिर्जना गर्ने उसले बताएको छ । नियमित विद्युत आपूर्ति भएमा उद्योग सञ्चालनमा सहज वातावरण सिर्जना गराएर विगतको बर्ष भन्दा चालु बर्षमा घटेको ईपीएस बढाउन सकिने कम्पनीले स्पष्ट पारेको छ । 

नेपालको सबैभन्दा ठूलो निर्यातकर्ता र रोजगारदाता उद्योगको रुपमा सरकार र गैरसरकारी क्षेत्रबाट पटक पटक सम्मानित हुँदै आएको रिलायन्सले ईपीएसमा कमी आउनुमा बदनियतपूर्ण ढंगले विद्युत आपूर्तिमा गरिएको अवरोध र अघोषित लोडसेडिङ हो भनेको छ । 

आर्थिक वर्ष २०७६–७७ मा उद्योगको ईपीएस ११.९५ रहेकोमा आ.व. २०७७–७८ मा ५३.९१, आ.व. २०७८–७९ मा ६१.१२, आ.व. २०७९–८० मा ५४. ३४ रहेको छ । चालू आर्थिक वर्ष २०८०–८१ मा आउँदा उद्योगको ईपीएस घटेर २.०८ रहेको छ । दैनिक १६ घण्टासम्मको अघोषित लोडसेडिङ र न्यून स्तरको विद्युत आपूर्तिका बीच पनि विगत ८ महिनामा उद्योग नाफामा रहन सफल रिलायन्सले दुई अर्ब २५ करोडभन्दा धेरै माथिको सञ्चित मुनाफा कमाउन सफल भएको छ । 

Advertisement

Advertisement