नलिन्चोकको हेलिप्याड विवादः मल्लिक समितिको अध्ययन प्रतिवेदनले निकास दिने आशा

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नलिन्चोक हेलिप्याड सञ्चालनको सुरक्षाको विषयमा कुनै सम्झौता नगर्ने बताएको छ । 

साथै, उक्त हेलिप्याड सञ्चालन सम्बन्धमा हेलिकप्टर पाइलटहरुले सुरक्षाको कारण देखाएर आफूहरुले उडान नगर्ने अडानसहितको पत्र बुझाएपछि प्राधिकरणले उक्त पत्रमा उल्लेख भएका विषयहरुमाथि अध्ययन गरि यसको सञ्चालनलाई थप सुरक्षित र सुदृढ बनाउन कमिटि गठन गरेको जनाएको छ । 

Advertisement

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा १५ जनाको सदस्य रहेको कमिटि बुधबार गठन गरिएको बताए । पाइलटहरुले गत असार १६ गते नै प्राधिकरणलाई पत्र बुझाएको खुलेको छ । प्राधिकरणले बनाएको समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिएको छ । समितिले रायसुझावसहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशकसमक्ष पेश गर्नेछन् । 

भुलले भने, ‘पाइलटहरुले जुन सरोकार राखेका थिए, त्यो सुरक्षाभन्दा पनि सुविधासँग सम्बन्धित छ । त्यो कुराहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अथवा हाम्रो आयोजनाले व्यवस्थापन गर्छ । बाँकी परिचालन र प्राविधिक समस्या जाहेज हो कि होइन ? त्यो कति हदसम्म हो ? त्यसलाई कसरी हल गर्ने ? नलिन्चोक हेलिप्याडमा उठेका सुरक्षासँग सम्बन्धित चिन्तालाई कसरी हल गर्ने ? भने चाहिँ त्यो समाधान सहितको प्रतिवेदन बुझाउन हिजो कमिटि गठन भएको हो । त्यो कमिटिले बुझाएको रायसुझावका आधारमा आवश्यक सुधार गरिनेछ ।’ 

प्राधिकरणले काम मात्रै लगाएर बसेको छ भन्ने कुरामा सत्यता नरहेको भन्दै भुलले प्राधिकरणले हवाई सुरक्षाको विषयमा सम्झौता नगर्ने बताए । उनले भने, ‘कुनै पनि विषय पाइलट, इन्जिनियरले जसले कुरा राखे पनि यदि त्यो विषय सुरक्षासँग सम्बन्धित् छ भने त्यसमा क्यान गम्भीर भएर समाधान निकाल्छ ।’ 

नलिन्चोक हेलिप्याडमा २०२३ डिसम्बर १२ मा परीक्षण उडान भएको थियो । त्यो प्रक्रियाबमोजिम नै भएको भुलले बताए । त्यसपछि असार ५ गते हेलिकप्टर कम्पनीका सञ्चालकहरुसहित बसेको बैठकले गत असार ७ गतेबाट उक्त हेलिप्याडमा हेलिकप्टरहरु उडान र अवतरण गर्ने सहमति भएको थियो । त्या बेलासम्म सुरक्षाका यस्ता विषयहरु आएको थिएन भन्दै भुलले अहिले आएकोले कमिटि बनाएको बताए । 

नलिन्चोक हेलिप्याडमा ‘लोड’ नभएर हिजोआज कुनै पनि हेलिकप्टर उडान भएको छैन् । भुलले उडान नभएको समयमा उडान गर्दिन भन्नुको कुनै तात्पर्य नभएको बताए । 

Advertisement