काठमाडौं । जजिरा र विज एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न कर छुटको शर्त राखेको छ ।
उनीहरुले हवाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा इन्धनमा लगाइएको कर छुट दिए भैरहवा विमानस्थलमा उडान गर्न तयार रहेको शर्त राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जजीरा एयरवेजले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुचारु गर्न विभिन्न खाले कर तथा शुल्क छुटको माग गरेको बताए । विज एयरले पनि उक्त विमानस्थलमा उडान गर्न सोही मागहरु राखेको उनले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि मर्मतका लागि दैनिक १० घण्टा बन्द गर्न लागिएको सन्दर्भमा थाइ एयर एसिया र एयर इण्डिया एक्सप्रेस दुई कम्पनीलाई भैरहवा विमानस्थलबाट व्यवसायिक उडान गर्न पत्राचार गरिएको पनि भुलले जानकारी दिए ।
नेपालमा नियमित व्यवसायिक उडान प्रस्ताव गरेका उनीहरुलाई भैरहवाबाट सेवा दिन प्राधिकरणले पत्राचार गरेको उनले बताए ।
जजिरा एयरवेजले आवुधावी हुँदै भैरहवाबाट यसअघि उडान गरे पनि व्यापार राम्रो नभएकाले तत्कालका लागि उडान स्थगित गरेको छ । जजिरा एयरवेजले आफूहरुले दुई दिनअघि भैरहवाबाट उडानका लागि केही छुट सहुलियतको माग गरेको स्वीकार गरेको बताएको छ । ती कुराहरुमा नेपाल तयार भए आफूहरु नियमित उडान गर्न तयार रहेको कम्पनीको भनाई छ ।