लघुबीमा कम्पनीहरुको नाफा ३.१० करोड मात्रै, लाभांश क्षमता एक प्रतिशतभन्दा पनि कम

Advertisement

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०–८१ मा लघु बीमा कम्पनीहरुले तीन करोड १० लाख ४१ हजार रुपियाँ खुद नाफा कमाएका छन् । 

हाल नेपालमा तीन जीवन र चार निर्जीवन गरेर सात लघुबीमा कम्पनी सञ्चालनमा छन् । तिनीहरुले गत आवमा कमाएको नाफा दयनीय देखिएको हो । कम्पनीहरुले हालै सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरुको लाभांश वितरण क्षमता एक प्रतिशतभन्दा पनि कम देखिएको छ । 

Advertisement

२०७९ मंसिरमा नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिएपछि अघिल्लो आव २०७९–८० को असार र गत आवको पहिलो त्रैमासमा गरेर सात वटै कम्पनी सञ्चालनमा आएका थिए । अघिल्लो आवमा सञ्चालनमा आएका चार लघुबीमा कम्पनीले सोही आवमा एक करोड ४७ लाख ७९ हजार रुपियाँ नाफा कमाएका थिए । 

गत आवमा भने सात लघुबीमा कम्पनीले तीन करोड १० लाख ४१ हजार रुपियाँ नाफा कमाएका हुन् । गत आवमा जीवन लघुबीमा कम्पनीले एक करोड ३० लाख पाँच हजार रुपियाँ नाफा कमाएका छन । त्यसमा लिवर्टी माइक्रो लाइफले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले ७६ लाख तीन हजार रुपियाँ नाफा कमाएको छ । 

यसैगरि, क्रेष्ट माइक्रो लाइफले ४० लाख दुई हजार र गार्डियन माइक्रो लाइफले १४ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा क्रेष्ट माइक्रो लाइफले ४४ लाख ९४ हजार र गार्डिन माइक्रो लाइफले १७ लाख ९५ हजार रुपियाँ नाफा कमाएका थिए । 

त्यो अनुसार क्रेष्ट माइक्रो लाइफको नाफा घटेको देखिन्छ । गार्डियन माइक्रो लाइफले भने नाफा बढाएको तथ्यांकले देखाउँछ छ । 

गत आवमा चार निर्जीवन लघुबीमा कम्पनीले एक करोड ८० लाख ३५ हजार रुपियाँ नाफा कमाएका छन् । त्यसमा सबैभन्दा धेरै ट्रष्ट माईक्रो लाइफले कमाएको छ । उक्त कम्पनीले एक करोड ९ लाख ५१ हजार रुपियाँ नाफा कमाएको छ । 

यसैगरि दोस्रो नम्बरमा नेपाल माइक्रो देखिन्छ, उक्त कम्पनीले गत आवमा २९ लाख ५४ हजार रुपियाँ नाफा कमाएको छ । यसैगरि प्रोटेक्टिभ माइक्रोले २३ लाख ४१ हजार र स्टार माइक्रोले १७ लाख ८८ हजार रुपियाँ नाफा कमाएका छन् ।
 
अघिल्लो आवमा सञ्चालनमा आएका नेपाल र प्रोटेक्टीभले सोही आवमा क्रमशः ४१ लाख ९९ हजार र ४२ लाख ८९ हजार रुपियाँ खुद नाफा कमाएका थिए । त्योअनुसार गत आवमा दुवै कम्पनीको नाफा घटेको देखिन्छ । 

अघिल्लो आवमा कम्पनीहरु सञ्चालनमा मात्रै आएका थिए । तर, ठाउँ ठाउँमा शाखा विस्तार गर्ने लगायतका गतिविधि गरेका थिएनन् । त्यो अवस्थामा उनीहरुको आम्दानी भएपनि खर्च भने उच्च थिएन । गत आवमा ठाउँ ठाउँमा शाखा विस्तार गर्ने लगायतका गतिविधि हुदाँ खर्च बढ्न गई कम्पनीको नाफा प्रभावित भएका देखिन्छ । 

लाभांश क्षमता एक प्रतिशतभन्दा कम 
प्रतिवेदनअनुसार सात कम्पनीको औसत लाभांश क्षमता एक प्रतिशत भन्दा पनि कम छ । हाल सबै कम्पनीको चुक्तापुँजी प्रति कम्पनी ५२ करोड ५० लाख रुपियाँ छ । उनीहरुले आईपीओ जारी गरेर चुक्तापुँजी ७५ करोड पुर्याउनुपर्नेछ । तर, हालकै चुक्तापुँजीमा उनीहरुको प्रति शेयर आम्दानी औसमा ०.८४ प्रतिशत मात्रै छ । 

गत आवमा ट्रस्ट माइक्रोको प्रति शेयर आम्दानी सबै भन्दा धेरै अर्थात् २।०९ प्रतिशत छ । दोस्रो नम्बरमा भने लिवट्री माइक्रो लाइफ रहेको छ । गत आवमा उक्त कम्पनीको प्रतिशेयर आम्दानी १.४४ प्रतिशत छ । यी बाहेक पाँच कम्पनीको प्रतिशेयर आम्दानी एक प्रतिशत भन्दा पनि कम छ । त्यसमा क्रेष्ट माइक्रो लाइफको ०.७६ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.२७ प्रतिशत मात्रै प्रतिशेयर आम्दानी छ । 

यसैगरि स्टार माइक्रोको ०.३४ प्रतिशत, नेपाल माइक्रोको ०.५६ प्रतिशत र प्रोटेक्टीभ माइक्रोको ०।४५ प्रतिशत प्रतिशेयर आम्दानी छ । 
नेपालमा लघुबीमा कम्पनी नयाँ हुन् । २०७९ मा लाइसेन्स पाएपछि सात कम्पनीले गत आवमा मात्रै पुर्ण रुपमा कारोबार सुरु गरेका थिए । तर, उनीहरुको व्यवसाय विस्तार भइसकेको छैन । 

ठाउँ ठाउँमा शाखा खोल्ने, फर्निचर लगायतका सामग्री व्यवस्थापन गर्ने, कर्मचारी भर्ना गर्ने लगायतका कारण सुरुवाती समयमा खर्च बढी हुन्छ । सोहीअनुसार गत आवमा लघुबीमा कम्पनीको खर्चपनि बढी हुन गएको देखिन्छ । साथै, सुरुवाती समयमा व्यवसाय विस्तार गर्न पनि चुनौती हुन्छ । यी यस्ता कारण गत आवमा लघुबीमा कम्पनीहरुले धेरै नाफा कमाउन नसकेको बताइन्छ । 

Advertisement