बैंकहरूको सम्पत्ति झण्डै रु. ६९ खर्ब, सबैभन्दा धनी ग्लोबल आईएमई, गरिव कुन होला ?

Advertisement

काठमाडौं । नेपालका बाणिज्य बैंकहरुमा सबैभन्दा धनी ग्लोबल आईएमई बैंक देखिएको छ । कुल सम्पत्तिको आधारमा ग्लोबल आईएमई बैंक सबै भन्दा धनी देखिएको हो । 

हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । २०८१ असार मसान्तसम्म उनीहरुको कुल सम्पत्ति ६९ खर्ब १२ अर्ब ६७ करोड ५० लाख रुपियाँ छ । त्यसमा सबै भन्दा धेरै ग्लोबल आईएमई बैंकको छ । तथ्यांकअनुसार गत आवसम्म उक्त बैंकको कुल सम्पत्ति छ खर्ब चार अर्ब ३९ करोड ५८ लाख रुपियाँ पुगेको छ ।

Advertisement

बैंकहरुले हालै सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८०–८१ को वित्तीय विवरणअनुसार धेरै सम्पत्ति हुनेमा दोस्रो स्थानमा नविल बैंक छ । उक्त बैंकको कुल सम्पत्ति पाँच खर्ब ५८ अर्ब ४२ करोड १७ लाख रुपियाँ रहेको छ । 

तेस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक छ । उक्त बैंकको कुल सम्पत्ति पाँच खर्ब नौ अर्ब ९५ करोड ६ लाख रुपियाँ रहेको छ । बैंकहरुको सम्पत्तिमा घरजग्गा, सवारी साधन, फर्निचर, लगानी, कर्जा प्रवाह लगायतका हुन्छन् ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगाको चार खर्ब ९२ अर्ब ७९ करोड ४६ लाख, कुमारीको चार खर्ब १२ अर्ब ६२ करोड १७ लाख, एनआईसी एसियाको चार खर्ब ११ अर्ब २२ करोड ३९ लाख, लक्ष्मी सनराइजको तीन खर्ब ९९ अर्ब  एक करोड ७० लाख, प्रभुको तीन खर्ब ६५ अर्ब ४१ करोड ३८ लाख र हिमालयनको तीन खर्ब ५७ अर्ब ५० करोड २० लाख रुपियाँ कुल सम्पत्ति रहेको छ । 

तथ्यांकअनुुसार नेपाल बैंकको तीन खर्ब ३९ अर्ब ४७ करोड ९५ लाख, कृषि विकासको तीन खर्ब १२ अर्ब ९९ करोड २० लाख, सिद्धार्थको दुई खर्ब ९६ अर्ब ८५ करोड १८ लाख र एनएमबीको दुई खर्ब ९५ अर्ब १० करोड १५ लाख रुपियाँ, एभरेष्टको दुई खर्ब ९३ अर्ब ९६ करोड ११ लाख, प्राइमको दुई खर्ब ६७ अर्ब ३४ करोड ३५ लाख, सानिमाको दुई खर्ब ३३ अर्ब ७८ करोड ५१ लाख, सिटिजन्सको दुई खर्ब २२ अर्ब ५९ करोड २० लाख, नेपाल एसबिआईको दुई खर्ब आठ अर्ब ८२ करोड २० लाख, माछापुच्छ्रेको एक खर्ब ८९ अर्ब ६२ करोड २५ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको एक खर्ब ४० अर्ब ७८ करोड २० लाख रुपियाँ सम्पत्ति देखिएको छ ।

बैंकहरुको सम्पत्ति बढ्नु राम्रो हो । तर, पछिल्लो समय बैंकहरुमा कर्जा असुल नभएर लिलामी गरिएको घरजग्गा जस्ता सम्पत्तिको मात्रा पनि बढ्दै गएको छ । गत आवमा बैंकहरुको कुल सम्पत्ति १२ प्रतिशतले बढेको देखिन्छ । २०८० असारसम्म ६६ खर्ब ३४ अर्ब ९३ करोड ९७ लाख रुपियाँ रहेको बैंकहरुको कुल सम्पत्ति अहिले ६९ खर्ब १२ अर्ब ६७ करोड ५० लाख रुपियाँ पुगेको हो । 

त्यसमा लिलामी गरेर राखेको जग्गाहरु पनि छन् । तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले त्यस्तो सम्पत्ति बिक्री हुन सकेको छैन । बैंकहरुसँग चल सम्पत्ति भएको राम्रो मानिन्छ । तर, अचल सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई त्यो व्यवस्थापन गर्न चुनौती भइरहेको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै नेपाल राष्ट्र बैंकले बैंकहरुको सम्पत्ति व्यवस्थापन गर्न छुट्टै ‘एसेट म्यानेजमेन्ट’ कम्पनी स्थापना गर्ने नीति चालु आवको मौद्रिक नीतिमार्फत लिएको छ । यो कम्पनी आएमा बैंकहरुको सम्पत्ति व्यवस्थापन गर्न सहज हुने विश्वास गरिएको छ ।

Advertisement