अधिक तरलताको असर– यो आवमा बैंकहरुले लिए पौने ४७ खर्बको निक्षेप सुविधा

Advertisement

काठमाडौं । आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून भएपछि बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक २०८०–८१ मा नेपाल राष्ट्र बैंकमा ४७ खर्ब ७३ अर्ब ६० करोड रुपियाँ निक्षेप राखेका छन् । 

बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडेलमा ८२१ पटक गरि सो बरारबको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । 
त्यसमा उनीहरुले ४३ खर्ब १८ अर्ब १५ करोड रुपियाँ फिर्ता लगिसकेको छन् । तीन खर्ब ५५ अर्ब ४५ करोड रुपियाँ भने राष्ट्र बैंकमा रहेको छ ।

Advertisement

निक्षेप अवधी सकिएपछि (परिपक्व भएपछि) बैंकहरुले व्याजसहित त्यो पैसा फिर्ता पाउने छन् ।राष्ट्र बैंकले थप निक्षेप संकलन गर्ने गरि प्रस्ताव आह्वान गरेको छैन् । नयाँ मापदण्ड अनुसार अब भोली (मंगलबार) मात्रै स्थायी निक्षेप सुविधा पाइन्छ, जुन दिनबाट नयाँ आव सुरु हुँदैछ । 

त्योअनुुसार यस सम्बन्धमा चालु आवका लागि यो नै अन्तिम तथ्यांक हो । कर्जा माग नभएर आफूसँग अधिक तरलता भएको अवस्थामा बैंकहरुले राष्ट्र बैंकमा निक्षेप राख्न सक्छन् । त्यसबापत राष्ट्र बैंकले निश्चित व्याज पनि दिन्छ, जसलाई बैंकिङ क्षेत्रको भाषामा निक्षेप सुविधा भनिन्छ । यो राष्ट्र बैंकको नियमित कामभित्रै पर्छ । 

यो बर्ष बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत मात्रै राष्ट्र बैंकमा ३५ खर्ब २२ अर्ब ३५ रुपियाँ निक्षेप राखेका छन् । सात सय ७१ पटक गरेर बैंकहरुले राष्ट्र बैंकबाट सो बराबरको स्थायी निक्षेप सुविधा लिएका हुन् । त्यसमा बैंकहरुले ३१ अर्ब ६७ अर्ब ८५ करोड रुयिाँ फिर्ता लगिसकेका छन् । 

अब राष्ट्र बैंकमा अन्तरगत तीन खर्ब ५४ अर्ब ५० करोड रुपियाँ निक्षेप बाँकी छ । त्यसको अवधी मंगलबार सकिदैछ । त्यसपछि बैंकहरुले त्यो रकम व्याज सहित र्फिता पाउने छन् र फेरी राख्न पनि पाउनेछन् । 

राष्ट्र बैंकले गत फागुन १ गतेदेखि पहिलो पटक एडीएफ कार्यान्वयनमा ल्याएको थियो । तोकिएको मापदण्ड र दिनमा बैंकहरुले निक्षेप राख्न प्रस्ताव गरेमा राष्ट्र बैंकले अस्वीकार गर्न पाउदैन । यसमा राष्ट्र बैंकले तीन प्रतिशत व्याज पनि दिन्छ । 
चालु आवमा कर्जाको माग न्यून हुदाँ बैंकहरुलाई तरलता व्यवस्थापन गर्न धौंधौं भएको थियो । 

आर्थिक शिथिलताका कारण कर्जा माग नहुँदा बैंकहरुमा पैसा थुप्रिने क्रम बढ्दो छ । त्यो अवस्थामा बैंकहरुले एसडीएफमार्फत पुँजी परिचालन गरिरहेका छन् । यसले सामान्य रुपमा भए पनि राहत मिलेको बैंकरहरु बताउँछन् ।

बैंकहरुले हप्तामा तीन पटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउँछन् । आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको पैसा बिहीबार र बिहीबार जम्मा भएको पैसा आइतबार परिपक्व भई भुक्तानी गरिन्छ । 

यो बर्ष बैंकहरुले निक्षेप संकलन उपकरणबाट भने राष्ट्र बैंकमा ११ खर्ब ५१ अर्ब २५ करोड रुपियाँ निक्षेप राखेका छन् । पचास पटक गरेर सो बराबरको रकम बैंकहरुले राष्ट्र बैंकमा राखेका हुन् । त्यसमा ११ खर्ब ५० अर्ब ३५ करोड रुपियाँ फिर्ता भइसकेको छ । यस अन्तरगत अब राष्ट्र बैंकमा ९५ अर्ब रुपियाँ निक्षेप बाँकी छ । 

सम्झौतामा उल्लेखित तालिका अनुसार त्यो रकम बैंकहरुले व्याजसहित फिर्ता पाउने छन् । यसमा बैंकहरुले बोलकबोल प्रणालीबाट निक्षेप राखेका हुन् । समीक्षा बर्षमा बैंकहरुले राष्ट्र बैंकबाट तरलता सुविधा भने एक पटक मात्रै ल्याएका छन् । 

गत साउनमै बैंकहरुले एक पटकमा एक अर्ब २० करोड रुपियाँ बराबरको तरलता सुविधा लिएका थिए । आफूसँग पैसा नभएको अवस्थामा बैंकहरुले राष्ट्र बैंकबाट ऋण लिएर कर्जा प्रवाह गर्छन् जसलाई तरलता सुविधा भनिन्छ ।

Advertisement