निष्क्रिय कर्जा ३.७६ प्रतिशत रहेको वाणिज्य बैंकहरुमा ‘नेट एनपीएल’ भने १.०६ प्रतिशत मात्रै

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ को अन्त्यसम्म आउँदा वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात १.०६ प्रतिशत मात्रै देखिएको छ । 

गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निष्क्रिय कर्जा अनुपात ३.७६ प्रतिशत छ । तर, उनीहरुको खुद निष्क्रिय कर्जा अनुपात अर्थात् नेट एनपीएल भने १.०६ प्रतिशत मात्रै देखिएको हो । 

Advertisement

नेपाल राष्ट्र बैंकबाट प्राप्त असार मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले यस्तो खुद निष्क्रिय कर्जा अनुपात थप घटाएका पनि छन् । गत चैतसम्म उनीहरुको नेट एनपीएल १.१४ प्रतिशत थियो । असारसम्म आउँदा त्यो घटेको देखिन्छ । 

असार मसान्तमा बैंकहरुले कर्जा असुली बढाएका थिए । साथै, बैंकले कतिपय ऋणीलाई ऋण तिर्नकै लागि कर्जा दिएका अर्थात् एभरग्रिनिङ गरेका पनि थिए, जसले गर्दा चैत मसान्तसको तुलनामा असार मसान्तसम्म आउँदा निष्क्रिय कर्जा अनुपात घटेको थियो भने खुद निष्क्रिय कर्जा अनुपात पनि घटेको देखिन्छ । 

हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । राष्ट्र बैंकले गत आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तदेखि बाणिज्य बैंकहरुको नेट एनपीएल गणना गर्न सुरु गरेको थियो । त्यसबेला बाणिज्य बैंकहरुको नेट एनपीएल १.१३ प्रतिशत थियो । 

बैंकहरुले निष्क्रिय कर्जाबापत तोकिएको सीमामा कर्जा नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ राख्ने गर्छन् । त्यसरी प्रोभिजनिङ राखिएको रकमलाई हटाएर नेट एनपीएल निकालिएको हो । प्रोभिजनिङ राखिएको कर्जा डुबेमा वा असुल नभएमा बैंकहरुको वित्तीय अवस्था थप प्रभावित हुँदैन । त्यसलाई प्रोभिजनिङले सुरक्षा प्रदान गरिसकेको हुन्छ । त्यसैले बैंकहरुको कर्जामा रहेको बास्तविक जोखिम देखाउनका लागि पनि यस्तो तथ्यांक निकालिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

पछिल्लो समय बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढ्यो भनेर बिभिन्न ढंगले व्याख्या गरिएको छ । कतिपय व्यक्ति तथा समूहले यसकै आधारमा बैंकहरु डुब्न लागेको भनेर हल्ला पनि गरिरहेका छन् । तर, खुद निष्क्रिय कर्जा अनुपातले भने बैंकहरु सुरक्षित नै रहेको देखिन्छ । 

बिशेषगरि पछिल्लो समय देखिएका आर्थिक शिथिलताका कारण बैंकहरुका केही कर्जाहरु असुल हुन सकेको छैनन् । सोही कारण गत आवदेखि बैंकहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । 

सामान्यत औसत एकदेखि दुई प्रतिशतभित्र हुने बैंकहरुको कुल निष्क्रिय कर्जा अहिले ३.७६ प्रतिशत पुगेको छ । तर, नेट एनपीएल मात्रै हेर्दा बैंकहरु सहज अवस्थामै रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । यद्यपि, बैंकहरुको कम्जोरी लुकाउन राष्ट्र बैंकले यस्तो तथ्यांक निकालेको तर्क पनि सरोकारवालाहरुको छ । 

तथ्यांकअनुसार सबैभन्दा कम खुद निष्क्रिय कर्जा एभरेष्ट र एसबीआई नेपाल बैंकको देखिएको छ । उक्त दुई बैंकको खुद निष्क्रिय कर्जा ०.२६ –०.२६ प्रतिशत रहेको छ । एभरेष्टको ०.७१ र एसबीआईको २ प्रतिशत कुल निष्क्रिय कर्जा अनुपात छ । 

यसैगरि, कुमारी बैंकसँग ०.४४ प्रतिशत खुद निष्क्रिय कर्जा अनुपात देखिएको छ । उक्त बैंकको कुल निष्क्रिय कर्जा अनुपात भने ४.९५ प्रतिशत रहेको छ । सानिमा बैंकमा ०.५१ प्रतिशत खुद निष्क्रिय कर्जा देखिएको छ । तथ्यांकअनुसार उक्त बैंकमा कुल निष्क्रिय कर्जा अनुपात भने १.७३ प्रतिशत रहेको छ । 

समीक्षा अवधीमा सबैभन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात लक्ष्मी सनराज बैंकसँग देखिएको छ । उक्त बैंकमा कुल निष्क्रिय कर्जा अनुपात ४.७२ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने १.८७ प्रतिशतमा सीमित छ ।

कुल निष्क्रीय कर्जाको तुलनामा खुद निष्क्रीय कर्जा अनुपात– 

undefined

Advertisement