सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत

Advertisement

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बुुधबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । नुभएको छ । आज भेटिएकामध्ये “भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उनले भने, “यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ,  अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ ।”

Advertisement

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए ।  

विपद्जन्य घटनामा एक सय २४ को मृत्यु
यता, अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ । 

बाढीपहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।  
 
उनका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन् । 

प्रहरीले कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको जनाएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जनाइएको छ । सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरुको तथ्यांक यहाँ समावेश गरिएको छैन ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १८ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ८४ पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट तीन हजार सात सय दुई परिवार विस्थापित भएका छन् । रासस

Advertisement

Advertisement