आन्तरिक राजश्व विभागद्धारा लक्ष्यको जम्मा ७८.६४ प्रतिशत राजश्व अशुली, कुन शीर्षकमा कति ?

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा आन्तरिक राजश्व विभागले पाँच खर्ब ३२ अर्ब ९७ करोड ७७ रुपियाँ मात्रै राजश्व संकलन गरेको छ । यो लक्ष्यको ७८.६४ प्रतिशत मात्रै हो । 

विभागले उपलब्ध गराएको गत आवको असार मसान्तसम्मको तथ्यांकले राजश्व अशुली निराशाजनक देखाएको हो । गत आवमा विभागले छ खर्ब ७७ अर्ब ७३ करोड आठ लाख रुपियाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, त्यो अनुसार राजश्व नउठेको विभागले पुष्टी गरेको छ । 

Advertisement

विभागले यसअघि गत असार २५ गते उपलब्ध गराएको विवरणमा असार मसान्तसम्म पाँच खर्ब २५ अर्ब ६ करोड रुपियाँ राजश्व उठ्न सक्ने अनुमान गरेको थियो । त्यो अनुमान अनुसार भने राजश्व बढी नै उठेको देखिन्छ । यद्यपि यो अघिल्ला आव २०७९–८० को तुलनामा ११.०७ प्रतिशत बढी हो । उक्त आवमा विभागले चार खर्ब ७९ अर्ब ८६ करोड ९३ लाख रुपियाँ राजश्व उठाएको थियो । 

यस विवरणमा भन्सार विभागलगायतका निकायबाट उठ्ने राजश्व समावेश छैन । यसमा व्यक्तिले तिर्ने आयकर, बिभिन्न कम्पनीले तिर्ने आयकर, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क लगायतका कर समावेश छन् । कुनै वस्तु आयात गर्दा भन्सारमा तिरिने भ्याट, अन्तःशुल्क लगायतका कर भने यसमा समावेश छैनन् । 

देशभर बिभिन्न माध्यमबाट उठ्ने कर र गैरकर राजश्वको एकीकृत तथ्यांक भने महालेखा नियन्त्रक कार्यालयमा हुन्छ । समीक्षा बर्षमा विभागले आयकरमार्फत दुई खर्ब ४१ अर्ब ८९ करोड १२ लाख रुपियाँ राजश्व संकलन गरेको छ । यो लक्ष्यको ८१.०७ प्रतिशत हो । गत आवमा सरकारले दुई खर्ब ९८ अर्ब ३५ करोड रुयियाँ आयकर उठाउने लक्ष्य लिएको थियो । सरकारको कुल राजश्वमा यसको हिस्सा सबै भन्दा बढी हुने गर्छ ।

यसैगरी भाडा करबाट दुई अर्ब ७४ करोड ५४ लाख रुपियाँ, व्याजबाट ३६ अर्ब ८४ करोड ७९ लाख रुपियाँ, आन्तरिक भ्याटबाट एक खर्ब ३० अर्ब आठ करोड २६ लाख रुपियाँ र आन्तरिक अन्तःशुल्कबाट एक खर्ब दुई अब ५७ करोड ९१ लाख रुपियाँ राजश्व प्राप्त भएको छ । लक्ष्यको आधारमा यो क्रमशः ६९.३२ प्रतिशत, ६१.३२ प्रतिशत, ८२.७४ प्रतिशत र ७०.४८ प्रतिशत हो । 

गएको आर्थिक बर्षमा सरकारले भाडा करबाट तीन अर्ब ९६ करोड रुपियाँ, करको व्याजबाट ५९ अर्ब ८० करोड,  आन्तरीक भ्याटबाट एक खर्ब ५७ अर्ब २१ करोड, आन्तरीक अन्तःशुल्कबाट एक खर्ब ४५ अर्ब ५३ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । यसैगरी स्वास्थ्य सेवाबाट छ अर्ब ५९ करोड ३७ लाख, शिक्षाबाट तीन अर्ब २६ करोड ३७ लाख र अन्य माध्यमबाट आठ अर्ब ९७ करोड ३८ लाख रुपियाँ राजश्व संकलन भएको छ । 

समीक्षा बर्षमा स्वास्थ्यबाट १० अर्ब चार करोड र शिक्षाबाट दुई अर्ब ८२ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य लिइएको थियो । त्यसमा स्वास्थ्यतर्फ लक्ष्यको ६५.६३ प्रतिशत राजश्व उठेको छ । शिक्षातर्फ भने लक्ष्य भन्दा पनि बढी अर्थात् ११६ प्रतिशत राजश्व उठेको छ । गत आवभर भने सरकारले १० खर्ब ५६ अर्ब ६६ करोड ३९ लाख रुपियाँ राजश्व संकलन गरेको थियो । खर्च भने १४ खर्ब नौ अर्ब रुपियाँ रहेको थियो । 

Advertisement