चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

Advertisement

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा  दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९र८० मा  दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए । 

Advertisement

गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ तथा आव २०७९–८० मा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९–८० मा ५५ हजार आठ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७८–७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए ।  

गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा यो रकम रु २२ करोड ९४ लाख रहेको थियो । आव २०७८–७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।

यसैगरी आव २०७७–७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६र७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो । निकुञ्ज स्थापनासँगै आव २०३१–३२ देखि पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । सो आवमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्याङ्क छ । सो आवमा रु एक लाख ४० हजार राजस्व सङ्कलन भएको थियो । आव २०३२र३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा रु दुई लाख एक हजार राजस्व सङ्कन भएको थियो ।

सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन् । भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरिन् ।  

Advertisement

Advertisement